नेपालगन्ज : आसन्न प्रतिनिधी सभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने कांग्रेसका युवा नेता श्रीराम सिग्देलले घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन मिति घोषणा भएसँगै भावी उम्मेदवारबारे बाँकेमा चर्चा सुरु हुन थालेसँगै उनले आफु पनि उम्मेदवारका लागि आकांक्षी रहेको बताएका हुन् ।
आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ ।
केन्द्रिय स्तरमा सत्तारुढ पाँच दलबीच सहमती भइसकेपनि जिल्लामा भने कांग्रेसका नेता, कार्यकर्ताहरु गठबन्धन गर्नुपर्ने पक्षमा देखिदैनन् । उनीहरु अधिकांसले गठबन्धन गर्नै परेमा नेपाली कांग्रेसको अस्तित्व नमेटिने गरी गठबन्धन गर्नुपर्ने बताइरहेका छन् ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको आक्रोश यतिबेला सामाजिक सञ्जालमा देख्न सकिन्छ । नेता सिग्देलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्र्, अवसर दिनुस् बाँकेको मुहार फेर्ने हिम्मत र आइडिया दुबै छ, बाँके क्षेत्र नम्बर २ बाट मेरो उम्मेदवारी रहनेछ ।’
बाँके क्षेत्र नम्बर २ पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोइरालाको निर्वाचन क्षेत्र भएकाले कांग्रेसको अस्तित्व जोगाउन उक्त क्षेत्र गठबन्धनका तर्फबाट कांगे्रेसले नै लिनुपर्ने तर्क गरेका छन् । अन्यथा, गठबन्धनका विरुद्ध नेपाली कांग्रेसको कार्यकर्ता भएको हैसियतले आफुले क्षेत्र नम्बर २ बाट जसरी पनि उम्मेदवारी दर्ता गराउने सिग्देलले बताए ।
‘न स्वतन्त्र पार्टीको भुत न हर्क र बालेनको भुत । भुत मात्रै त्यो भुत बाँके २ नेपाली कांग्रेसको अखडा हो, तत्कालिन सभापति पुर्वप्रधानमन्त्री सुशिल कोइरालाको निर्वाचन क्षेत्र पनि हो । यो क्षेत्रमा कांग्रेसलाई सुरक्षित गरियोस भन्ने हो । मात्र कांग्रेस र स्वर्गिय कोइरालाको सम्मानार्थ,’ गुलेली मास्टर नामक ट्वीटरमा सिग्देलले लेखेका छन् ।
उम्मेदवारी घोषणा गरेको विषयमा जिज्ञासा राख्दा उनले बाँके क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्तालाई सधैं अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्न बाध्य गराउन नहुने बताए । ‘स्वर्गिय सुशिल कोइरालाको निर्वाचन क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेसका कार्यकर्तालाई हलोमा भोट हाल्न लगाइयो, अहिले फेरी गठबन्धनका नाममा अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न बाध्य नपारियोस्,’ दूरसञ्चार डटकमसँग सिग्देलले भने ‘यदी गठबन्धनका नाममा अर्कै पार्टीका उम्मेदवारलाई कांग्रेस कार्यकर्ताले भोट हाल्ने अवस्था आयो भने त्यतिबेला म कांग्रेसको सिपाही भएको नाताले बाँके क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँछुु ।’
सिग्देल नेपाली कांग्रेसमा बिद्यार्थी राजनीति हुदै लामो समयसम्म पत्रकारिता पेशामा आवद्ध भएका थिए । नेपाल पत्रकार महासंघ बर्दियाको पुर्वअध्यक्ष समेत रहेका सिग्देल हाल नेपाल प्रेस युनियन बाँकेका केन्द्रिय पार्षद छन् । बाँकेमा पर्यटनका क्षेत्रमा समेत काम गर्दै आएका उनी हाल नाटा बाँके च्याप्टरको अध्यक्ष हुन् ।