नेपालगन्ज : आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर ३ बाट एमालेका तीन जना आकांक्षी देखिएका छन् । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, जिल्ला सचिव रत्न खत्री र युवा नेता भिम ओलीले प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बन्ने अहिलेसम्म आकांक्षा देखाएका हुन् ।
सरकारले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरिसकेको छ । निर्वाचन मिति घोषणा पश्चात निर्वाचन आयोगले आफ्नो तयारी गरिरहँदा दलभित्र उम्मेदवारका आकांक्षी देखिन थालेका हुन् । बाँकेको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले लगातार दुई पटक जित्दै आएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै बामगठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय प्रतिनिधी सभामा निर्वाचित भएका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा पनि नेपाली कांग्रेसका कृष्णमान श्रेष्ठलाई हराउँदै एमालेका दलबहादुर सुनार निर्वाचित भएका थिए ।
२०७९ सालको स्थानीय निर्वाचनमा भने क्षेत्र नम्बर ३ को अवस्था केही फेरिएको छ । क्षेत्र नम्बर ३ अन्तरगत पर्ने जानकी र बैजनाथ गाउँपालिका दुबैमा कांग्रेसले प्रमुख र उप-प्रमुख सहित बहुमत ल्याएको छ । यस्तै खजुरा गाउँपालिकामा कांग्रेस र माओबादी केन्द्रको गठबन्धनले जितेको छ ।
आसन्न प्रतिनिधी सभा निर्वाचनमा पनि २०७४ सालकै आफ्नो विरासत कायम राख्ने एमालेको रणनीति छ । यसका लागि पार्टीभित्र उम्मेदवार बन्ने तिब्र आकांक्षा बढेको देखिन्छ । जिल्ला अध्यक्ष कक्षपति २०७४ को स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी यसपटक पार्टीले प्रतिनिधी सभाको टिकट दिएपछि लड्ने आकांक्षामा छन् । उनी निकट नेताका अनुसार टिकट पाएपछि प्रतिनिधी सभामा मात्रै लड्ने मनस्थितीमा छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशको सदस्य सचिव समेत भइसकेका नेता ओली पार्टीको विभिन्न जिम्मेवारीमा बस्दै आएका छन् । विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन सक्रिय भएका ओली यसपटक आफै लड्ने दाउमा छन् ।
सकभर प्रतिनिधी सभाको उम्मेदवार बन्ने आकांक्षा राखेका उनी पार्टीले अन्तिममा प्रदेश सभाको टिकट दिएपनि लड्ने ओलीको योजना छ । एमाले बाँकेको सचिवमा दोस्रो पटक दोहोरिएका खत्रीले पनि प्रतिनिधी सभाको उम्मेदवारको टिकट ताकेका छन् । उनी निकट नेताका अनुसार अन्तिममा यदी उनले प्रतिनिधी सभाको टिकट नपाउने अवस्था आएमा प्रदेश सभामा भएपनि लड्ने सोच बनाएका छन् ।