- क्षेत्र नम्बर १ यसपटक कांग्रेसको हातबाट फुत्कियो भने २०७९ सालपछि हुने अन्य चुनाव कांग्रेसका लागि निकै महंगो पर्ने विश्लेषण
नेपालगन्ज : जिल्लामा कांग्रेसको राजनीतिमा बर्चश्व जमाएको क्षेत्र हो, बाँके क्षेत्र नम्बर १ । यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै बाँके कांग्रेसमा जिल्ला सभापतिसहित थुप्रै पदमा आसिन छन् ।
जिल्ला सभापति नारायणप्रसाद गौडेल, पुर्वसांसद ज्ञानु केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल र अन्जना पाण्डे, जिल्ला उप-सभापति कृष्ण कार्की, सचिव सञ्जुकुमारी थारु, पुर्वजिल्ला सचिव तप्तबहादुर पौडेल, क्षेत्रीय सभापति पोषणराज केसी, पुर्वक्षेत्रीय सभापति माधवराम खत्री, पुर्वजिल्ला उप-सभापतिद्धय लाहुराम थारु र फुलाराम थारु, प्रदेश सभा-१ ‘क’ का सभापति लक्ष्मण थारु, युवा नेता तथा तरुण दलका पुर्वमहामन्त्री हुर्मत न्यौपाने, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, युवा नेता पूर्णप्रसाद आचार्य लगायतले सोही क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका छन् । यि मध्ये केहीले प्रतिनिधी सभा र केहीले लुम्बिनी प्रदेश सभा सांसदको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्, भने केही नेताहरु हालै स्थानीय तहमा निर्वाचित भइसकेका छन् ।
कांग्रेसको जिल्लादेखी केन्द्रसम्म राम्रो सम्बन्ध बनाएका नेताहरु रहेको उक्त क्षेत्रमा आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी एक्लै लड्ने या गठबन्धन गरेर लड्ने ? भन्ने कुराको टुंगो लाग्न सकेको छैन । आसन्न निर्वाचनमा पाँच दलबीच गठबन्धन गरेर चुनाव लड्ने केन्द्रमा भने सहमती भइसकेको छ । यद्यपी, गठबन्धनभित्र रहेका कुन दललाई कुन-कुन निर्वाचन क्षेत्र दिने भन्ने टुंगो लागिसकेको छैन ।
पार्टीको जिल्लादेखी केन्द्रसम्म पहुँच राख्ने नेताहरुको बर्चश्व रहेको उक्त क्षेत्रमा गठबन्धन भईहालेपनि प्रतिनिधी सभाको एउटा सिट वा प्रदेश सभाको दुई वटा सिट मध्ये कांग्रेसले कुन पाउँछ ? या गठबन्धनबाट अन्य दलको भागमा पर्छ ? अहिले आम रुपमा चासोको विषय बनिरहेको छ । अर्कोतर्फ गठबन्धनका कारण उक्त क्षेत्रमा कांग्रेसलाई आफ्ना नेता ब्यवस्थापन गर्न समस्या हुने संकेत देखिएको छ । गठबन्धनकै कारण कांग्रेस चेपुवामा परेको छ ।
गठबन्धन भएर क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सांसदको उम्मेदवार कांग्रेसको हातबाट फुत्कियो भने फिर्ता ल्याउन कयौं वर्ष कुर्नुपर्ने अवस्था आउने निश्चित रहेको कार्यकर्ताहरुको तर्क छ । त्यसैपनि उक्त क्षेत्र विगत दुई दशकदेखी कांग्रेसको हातबाट फुत्किँदै आएको छ । जबकी क्षेत्र नम्बर १ कांग्रेसको सबैभन्दा धेरै बाहुल्यता रहेको क्षेत्र हो ।
कांग्रेसभित्र घात/अन्तरघात नहुने हो, भने यस क्षेत्रमा चुनाव जित्न अन्य दललाई हम्य-हम्य नै पर्छ । यो क्षेत्र यसपटक कांग्रेसको हातबाट फुत्कियो भने २०७९ साल पछि हुने अन्य चुनाव जित्न कांग्रेसका लागि निकै महंगो पर्ने विश्लेषण भइरहेको छ ।
त्यसैपनि, पार्टीले यस क्षेत्रमा थुप्रै नेताहरुलाई ब्यवस्थापन गर्न सकेको छैन । यो चुनावमा गठबन्धन भएर फरक दलले उम्मेदवार पाएमा कांग्रेसका नेता, कार्यकर्ताहरुमा झनै निराशा छाउने देखिन्छ । कांग्रेसका तत्कालिन सांसद ज्ञानु केसीपछि क्षेत्र नम्बर १ मा कांग्रेसले लगातार हार ब्यहोर्दै आएको छ ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार गजेन्द्र हमाललाई पराजित गरी माओवादीका तिलक परियार निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधान सभामा कांग्रेसका उम्मेदवार नारायणप्रसाद सिग्देललाई पराजित गरेर एमालेका देवराज भार निर्वाचित भए ।
२०७४ सालको निर्वाचनमा कांग्रेसका माधवराम खत्रीलाई पराजित गर्दै तत्कालिन बामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’ निर्वाचित भए । प्रदेश सभा-१ ‘क’ मा कांग्रेसका उम्मेदवार शरदचन्द्र बर्मालाई हराउँदै बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी कृष्णा केसी ‘नमुना’ निर्वाचित भईन् । प्रदेश सभा-१ ‘ख’ मा कांग्रेसका नारायणप्रसाद गौडेललाई पराजित गर्दै बाम गठबन्धनका तर्फबाट एमालेकी आरती पौडेल निर्वाचित भएकी थिइन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हेर्दा उक्त क्षेत्रमा कांग्रेसको अझैपनि बलियो स्थिती रहेको देखिन्छ । उक्त क्षेत्र अन्तरगत पर्ने कोहलपुर नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख सहित बहुमत वडा जितेको छ । राप्ती सोनारी गाउँपालिकाको सबै वडा हारेपनि प्रमुख र उपप्रमुख जितेको छ । नरैनापुर गाउँपालिकामा प्रमुख र उपप्रमुख हारेपनि कार्यपालिकामा कांग्रेसकै बहुमत रहेको छ ।