नेपालगन्ज : बाँकेमा सक्रिय सञ्चारकर्मी कल्पना कार्कीले मंगलबार परेको आफ्नो जन्मदिनका अवसरमा पत्रकार उदयराज जैसवालको उपचारमा सहयोग गरेकी छन् । उनले स्वरुप नगद ४ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेकी हुन् । आफ्नो जन्मदिनमा कुनै फजुल खर्च नगर्ने घोषणा स्वरुप जति सकिन्छ हरेक वर्ष कुनै न कुनै ब्यक्तिलाई सहयोग गर्दै आएकोमा यसपटक पत्रकार जैसवाललाई उपचारमा सहयोग गरिएको कार्कीले बताएकी छन् ।
‘हुन त मेरो सानो सहयोगले धेरै केही नहोला, तर उहाँलाई केही सहयोग मिल्ने अपेक्षा गरेकी छु, मैले आफ्नो जन्मदिनमा कुनै फजुल खर्च नगर्ने घोषणा गरेकी छु र जति सकिन्छ हरेक बर्ष कुनै न कुनै ब्यक्तिलाई सहयोग गर्दै आएकी थिए, आफ्नो सक्ने सहयोग यो पटक मित्र उदयराज जैसवाल यति बेला लखनउमा उपचाररत रहनु भएको र हिजो नेपाल प्रेस युनियन बाँकेले सहयोग गरेको बिहान समाचार पढे निकै दुःख लाग्यो साथीको शिघ्र स्वास्थ्य लाभको कामना,’ उनले भनेकी छन् ।
कार्कीले उपलब्ध गराएको सहयोग रकम जैसवालका परिवारलाई हस्तान्तरण गरिने युनियन बाँकेले जनाएको छ । मस्तिष्कघात भएर उपचार गराईरहेका पत्रकार जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले सोमबार आर्थिक सहयोग गरेको थियो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा सोमबार जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीस्थित जैसवालको घरमै पुगेर युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उनकी धर्मपत्नी रानी जैसवाललाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
पत्रकार जैसवालको एक महिना अघि स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि भारतको लखनउस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । नेपाल प्रेस युनियनको साधारण सदस्य रहेका ३२ वर्षीय जैसवाल पत्रकारिता पेशामै आवद्ध रहेका छन् ।
पत्रकार जैसवालकी धर्मपत्नी रानी जैसवालले उपचार गर्न आर्थिक समस्या परेपछि जग्गा बेचेर भएपनि उपचार गराइरहेको बताएकी छन् । हाल सम्म उपचारमा करिव १२ लाख रकम रुपैयाँ खर्च भइसकेको उनको भनाई छ । पत्रकार जैसवालको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न युनियन बाँकेले अपिल समेत गरेको छ ।
यो पनि पढ्नुस् :
पत्रकार जैसवालको परिवारलाई प्रेस युनियन बाँकेको सहयोग