कोहलपुर : कोहलपुर नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराउने तयारी गरेको छ । नगर क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बसोवास गरेका पहिलो चरणमा दुई स्थानमा हटाउन छलफल भइरहेको नगर प्रमुख पूर्ण आचार्यले जानकारी दिए ।
विभिन्न जिल्लामा जग्गा जमिन भएका, सरकारी जागिर भएका कोहलपुरमा सुकम्वासी हुन नपाउने बताउँदै आचार्यले भने, ‘सरकारी जागिर खाने र सरकारी जमिन अतिक्रमण गरेर बस्न पाइदैन, सबैको प्रोफाइल तयार गरिरहेको हुँदा को–कहाँबाट आएको हो, उसको परिवारको अवस्था कस्तो हो, भनेर सबै बुझन लागिरहेको छु ।’
वास्तविक सुकम्बासी भएमा भूमी आयोगले नै उचित ब्यवस्थापन गर्ने आचार्यको भनाई छ । कोहलपुरको समग्र विकासका लागि कोहलपुरमा रहेका राजनीतिक दल, नागरिक समाज, सचेत नागरिक समेतको भूमिका रहने भएकाले सबैलाई यस विषयमा सल्लाह सुझाव दिन समेत आचार्यले आग्रह गरेका छन् ।
कोहलपुरमा नापी र मालपोत ल्याउने, पुरानो बसपार्क व्यवस्थापन गर्ने, सडकको अतिक्रमण हटाउने, नगर विकासको जग्गा अतिक्रमण नियन्त्रण, हुलाक र सव-डिभिजन वन कार्यालयलाई अन्यत्र स्थान्तरण गर्ने लगायत विविध विषयमा केहीदिन अघि आचार्यले मन्त्रालयमा छलफल गरेका थिए ।