काठमाडौं : नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको राजकीय सम्मानका साथ आइतबार अपरान्ह अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरियो । सरकारले चाहेको अवस्थामा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्थाअनुसार गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको हो ।
सो क्रममा नेपाल प्रहरीको एक टुकडीले गिरिको सम्मानमा अन्तिम सलामी दिएको थियो । गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागबत्ती दिए । कांग्रेस पार्टी कार्यालय ललितपुरस्थित सानेपाबाट निस्केको शवयात्रा पशुपति आर्यघाट पुगेर अन्त्येष्टी गरिएको थियो ।
सादगी नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, गृहमन्त्री बालकृष्ण खाण, अरु मन्त्रीहरू, सांसद, विभिन्न दलका नेता कार्यकर्ता, शुभिचन्तक, सर्वसाधारण आर्यघाट पुगेका थिए । क्यान्सर र निमोनियाबाट पीडित गिरिको लिलतपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा शनिबार राति ९ः३० बजे निधन भएको थियो ।
गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए । प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै स्मरण गरिएको छ ।