मुलुकको पुरानो र ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशन गर्ने तयारीमा छ । महाधिवेशनको सरगर्मी अहिले देशब्यापी रुपमा बढिरहेको छ । वडा तहदेखी केन्द्रसम्म नयाँ नेतृत्व निर्वाचित गर्ने अधिवेशन कतिपय जिल्लाका अझैपनि हुन सकेको छैन । बाँकेमा पनि अधिवेशनको अन्यौलता कायमै छ । जिल्लाको वडा तहमा अधिवेशन तोकिएको समयभित्र किन हुन सकेन ? यि लगायत विविध विषयमा प्रस्तुत छ, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालासँग दूरसञ्चार डटकमका लागि गरिएको विशेष कुराकानी :
जिल्लामा पार्टीको १४ औं अधिवेशन गर्ने तयारी कस्तो छ ?
हाम्रो तयारी त केही छैन । हामी कुरेर बसिरहेका छौं । भदौंको १७, १८ र १९ गते केन्द्रको अधिवेशन सिध्याउनुपर्ने बेलामा अहिलेसम्म पनि सक्रिय सदस्यको लिष्ट आएको छैन । मान्छे छट्पटाएर बसिरहेका छन् । सबै जिल्लामा चुनाव भईसक्यो । २१ जिल्ला बाँकी छ । अरु जिल्लामा विवाद सिद्धिसक्यो । बाँके जिल्ला मात्रै बाँकी छ भन्दाखेरी मैले त विवाद नै देखेको छैन । तैपनि यसलाई विवादित बनाइयो ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमै किन यस्तो अवस्था आयो ?
हो, त्यही त दुःख लाग्छ हामीलाई । नेपाली कांग्रेस पार्टी अरु पार्टीलाई विधि र पद्धती सिकाउने पार्टी हो । झन् आफु त विधि, विधान अनुसार चल्नैपर्ने हुन्छ । क्रियाशिल सदस्यता विवादले गर्दा यस्तो अवस्था आएको हो ।
बाँकेबाट कतिको संख्यामा नयाँ सदस्यको नाम सिफारिस भएको थियो ?
म त्यो भन्नै सक्दैन । किनभने निर्णय नै छैन भने के भन्ने ? जिल्लालाई जानकारी नै छैन । जिल्लालाई थाहै छैन, म कसरी भनौं ?
पार्टी सभापति भएको नाताले तपाईको पनि केही जिम्मेवारी त होला नि ?
मैले चाहेर पनि केही गर्न सक्दैन । जिल्लालाई अधिकार छैन । क्रियाशिल सदस्यता मेरो हातमा छैन । केन्द्रमा छानविन समिति बनेको छ । केन्द्रले आफै हेरिरहेको छ ।
तोकिएको समयमा अधिवेशन नहुँदा नेता, कार्यकर्ता के भन्छन् ?
कार्यकर्ता असाध्यै निराश भएका छन् । जुन किसिमले विपीले सुरुवाद गरेको नेपाली कांग्रेस र त्यतिबेलाका बिद्यार्थीहरुले जुन यसलाई गति दिए, अब अहिले पार्टीको यो स्थिती देख्दाखेरी यति मान्छेहरु निराश छन् । एउटा नेपाली कांग्रेस यस्तो पार्टी थियो, आज यही पार्टीले गर्दाखेरी सबै पार्टीले अवसर पाए । पञ्चायती ब्यवस्था ढालेर जुन बहुदलिय ब्यवस्था आयो, त्यो भन्दा पहिले कुनै पार्टी थिएनन् । कम्युनिष्टलाई त राजाले नेपाली कांग्रेसलाई डोमिनेट गर्नलाई लिएको थियो । बाँकी कुनैपनि पार्टी थिएन । भनेपछि यत्रो पार्टी आएको कारण नेपाली कांग्रेस हो । नेपाली कांग्रेस ऐतिहासिक र जनताको पार्टी हो । तर, अहिलेको गतिविधीले सबै निराश भएका छन् ।
अधिवेशन नहुँदा तपाईलाई कस्तो लागिरहेको छ ?
अधिवेशन नहुँदा मलाई साह्रै पीडा भएको छ । म सभापति भएर पनि के गर्ने ? अब क्षेत्रलाई पावर दिएको छ । छानविन समितिलाई डिक्टेड गर्ने काम भइरहेको छ । अहिले पार्टीभित्र गुटको लडाई हो कि के को लडाई हो, गुटको लडाईले पनि पार्टी ड्यामेज भएर गइरहेको छ । मैले चाहेर पनि केही गर्न सक्दैन ।
तोकिएको समयमा अधिवेशन गराउन कांग्रेस बाँकेले केन्द्रलाई किन दवाव दिन सकेन ?
हामीले केन्द्रिय नेताहरुलाई पटक पटक दवाव दिएकै हो । तर, केन्द्रका नेताका पनि आफ्नै गुट र स्वार्थ छन् । हाम्रो सारा साथीभाईहरु काठमाडौं गएर बसे । घच्घच्याईरहेका छन् । केन्द्रका सारा लिडरहरुलाई घचघच्याईरहेका छन् । यहाँको सारा जानकारी दिदाँ दिदै पनि अहिलेसम्म टुंगो लागेको छैन ।
पार्टीको अधिवेशन यो स्थितीमा पुग्दा पार्टी कमजोर हुदैन ?
असर गर्छ नि । मनोबल खस्किरहेको छ । पार्टीमा लगानी गरेका जुन कार्यकर्ताहरु छन्, तिनलाई माईनस गरेर आफ्नो मान्छेलाई स्थापित गर्दाखेरी असर पर्छ । जो रियल नेपाली कांग्रेसका कार्यकर्ता थिए, तिनलाई माईनस गर्ने वित्तिकै त मान्छेको उत्साह खत्तम भईहाल्छ नि । जो त्यो अरु पार्टीसँग लड्ने, भिड्न सक्दैनन् । हेर्नुस्, चुनाव आईरहेको छ । चुनावमा त मान्छेमा जुझारुपन पनि हराएर जान्छ नि ।
भिडियो हेर्नुस् :