नेपालगन्ज : प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले आफ्ना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने तयारी गरेको छ । आकांक्षीको नाम सिफारिस गर्नुअघि पार्टीले केन्द्रिय कमिटी सदस्य, केन्द्रिय सल्लाहकार, प्रदेश कमिटी, प्रदेशका सल्लाहकार लगायत नेताहरुसँग सल्लाह, सुझाव लिने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले बताए ।
‘निर्वाचनका लागि आकांक्षीको नाम कसरी सिफारिस गर्ने ? के कस्तो मापदण्ड बनाउने भनेर सल्लाह लिनेछौं,’ उनले भने । एमालेले प्रदेश सभा र प्रतिनिधी सभा उम्मेदवारको नाम सम्बन्धित तहबाट नै सिफारिस गर्ने प्रावधान बनाएको छ ।
प्रदेश सभा र प्रतिनिधी सभाबाट सिफारिस भएर आएको नामलाई जिल्ला कमिटीले लुम्बिनी प्रदेश कमिटीमा पठाउने र लुम्बिनी प्रदेश कमिटीले केन्द्रिय कमिटीमा पठाउने उपाध्यक्ष विसी बताउँछन् । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न एमालेभित्र थुप्रै नेताहरुले आकांक्षा राखेको उनले सुनाए । ‘धेरै जना कमरेडहरु आकांक्षी हुनुहुन्छ, तर सिफारिस भएर केन्द्रमा पठाइएको नामलाई पार्टीले टुंग्याउँछ,’ उनले भने ।
प्रदेश सभा र प्रतिनिधी सभाबाट सिफारिस भएर आएको नामलाई यही भदौं २० गतेसम्म जिल्ला कमिटीले लुम्बिनी प्रदेश कमिटी समक्ष सिफारिस गरेर पठाइसक्नुपर्ने अवस्था रहेको उपाध्यक्ष बिसीले जानकारी दिए । ‘उम्मेदवारको नाम सिफारिसका विषयमा भोलीदेखी हामीहरु जुट्नेछौं,’ उनले भने । जिल्लामा पार्टी एक्लै चुनाव लड्ने या गठबन्धन गर्ने भन्ने विषयमा अहिले नै टुंगो नलागेको बिसीले बताए ।
केन्द्रले गरेको निर्णय अनुसार अगाडी बढिने उनको भनाई छ । २०७४ सालको निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रसँग बाम गठबन्धन गरेको थियो । बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ बाट नन्दलाल रोकाय, प्रदेश सभा-१ 'ख' बाट आरती पौडेल र प्रदेश सभा-३ 'ख' बाट एमालेका बाबुराम गौतम निर्वाचित भएका थिए ।