बाँके(नरैनापुर): अर्थमन्त्री जनार्दन शर्माले नरैनापुर गाउँपालिकामा पुगेर ‘सुख्खाग्रस्त’ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । खडेरीका कारण खेतीयोग्य जमिन बाँझै भएपछि गाउँपालिकाले केही समयअघि सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै किसानलाई तत्काल राहत तथा सिचाइँको बैंकल्पिक ब्यवस्था गरिदिन संघ र प्रदेश सरकारसँग माग गरेको थियो । नेपालगन्ज आइपुगेका अर्थमन्त्री शर्माले शुक्रबार स्थलगत रुपमा निरीक्षण गरेका हुन् ।
निरीक्षण गरिसकेपछि अर्थमन्त्री शर्माले अधिकांस खेतीयोग्य जमिन बाँझै रहेको कुरा प्रत्यक्ष देखेको र सुख्खा खडेरीबाट प्रभावित किसानलाई राहत र सिचाइँ ब्यवस्था मिलाउन आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।नरैनापुर गाउँपालिकामा आफुले देखेको समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र विशेष राहत प्याकेजका विषयमा मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने बताए । ‘प्रायः सबै जमिन र खेतहरु बाँझो नै छ, खाद्य संकट स्वतः निम्तिने खतरा देखिन्छ, यस विषयमा म मन्त्री परिषद बैठकमा प्रस्ताव राख्छु, यस विषयमा अवश्य पनि छलफल होला, म प्रधानमन्त्री ज्युसँग पनि कुरा राख्छु,’ शर्माले भने ।
किसानले धान रोप्न नपाएको जमिनमा तत्काल अन्य बाली रोपेर उत्पादन गर्न उनले सुझाव दिए । नरैनापुरमा सिचाइँ सुविधा पुर्याउन निर्माणाधिन सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरलाई छिटो पुर्याउनुपर्ने देखिएको शर्माको भनाई छ । रैनापुरमा यसपटक कुल खेतीयोग्य जमिनको १५ प्रतिशत मात्र रोपाई भएको छ । अधिकांस खेतीयोग्य जमिन बाँझै भएका छन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सुख्खा खडेरीका कारण खेती गर्न नपाएका किसानमा भोकमरीको समस्या निम्तिन थालिसकेको बताए । ‘नरैनापुर एकदमै कठिन अवस्थामा छ, अब भोकमरी पर्ने अवस्था आइसकेको छ,’ उनले भने ‘म कहाँ चार जनाको परिवार भोकमरी पर्यो भनेर सम्पर्कमा आईसकेका छन् ।’ नरैनापुरको समस्या तत्काल समाधान गरिदिन संघिय सरकारसँग अध्यक्ष शाहले माग गरे । नरैनापुरको कुल ६ वटा वडामा ३/३ वटाका दरले डिप बोरिङको ब्यवस्था गरिदिनुपर्ने बताए ।
पाँच वर्षअघि विकासबाट धेरै पछाडी भएको नरैनापुरको अवस्था अहिले धेरै परिवर्तन भएको बताउँदै भने, ‘विकासका हिसाबले अहिले धेरै अगाडी पुगिसकेको छ, तर प्रकृतिले सधैं ठग्दै आएको छ, कहिले बाढीले बालीनालीमा क्षति पुर्याउँछ, कहिले खडेरी परेर किसानका खेतबारी बाँझै हुन्छ ।’
लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले नरैनापुरको समस्यालाई तत्काल सम्बोधन गर्न जरुरी रहेको बताइन् । खडेरीका कारण खेती गर्न नपाएका किसानलाई भोकमरी हुनबाट जोगाउन राज्यले विशेष प्याकेज ल्याउनुपर्ने माग गरिन् । यस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले पनि नरैनापुरको समस्यालाई सरकारले तत्काल सम्बोधन नगरे भोकमरी पर्ने निश्चित रहेको बताए । नरैनापुरबासीले सरकारसँग धेरै अपेक्षा गरेको उनको भनाई छ ।
नरैनापुरमा पुगेका अर्थमन्त्री शर्मालाई गाउँपालिका अध्यक्ष शाहले औपचारिक कार्यक्रम गरेर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, जिल्ला प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारी, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, विभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्य, स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले सुख्खाग्रस्त क्षेत्रका साथै नेपाल भारत सिमा क्षेत्रको पनि निरीक्षण गरेका थिए ।
भिडियो हेर्नुस् :