नेपालगन्ज : विपद् पूर्वतयारीका लागि समुदाय स्तरमा भुकम्प तथा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास नेपालगन्जमा गरिएको छ । नेपालगन्जको वडा नम्बर ३ र ७ मा उक्त अभ्यास गरिएको हो ।
युरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपाल, युएनडिपी, युएन उमनको साझेदारीमा रेडक्रस बाँकेद्धारा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले उक्त कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।
कृत्रिम अभ्यासमा समुदायले भूकम्प तथा आगलागीमा अपनाउनुपर्ने पूर्वतयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा स्थानिय स्रोत साधनको प्रयोग सम्वन्धमा अभ्यास गरिएको थियो । नेपालगन्ज उपमहानगरको वडा नम्बर ३ र ७ मा शुक्रबार र शनिबार आयोजना गरिएको अभ्यास कार्यक्रमा वडास्तरिय विपद व्यवस्थापन समिति, स्थानिय स्वयं सेवक, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो ।
कृत्रिम अभ्यास कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नम्बर ३ का मोहम्मद आयुव सिद्धिकी र नेपालगन्ज उपमहानगरपालिकाको विपद् फोकल पर्सन प्रकाश डि.सी., दुबै वडाका जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी सदरलाईन उपशाखाका सभापति ओमप्रकाश आजाद, युनिसेफ नेपालका प्रतिनिधी अशिम श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधी, दमकल सेवाका प्रतिनिधी र स्वयं सेवकको सहभागिता रहेको रेडक्रस बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
सदरलाइन उपशाखाले रेडक्रस दिवसको रुपमा समुदायमा आयोजना गरिएको कृत्रिम अभ्यासका सिकाईका आधारमा आगामी दिनमा ४ सय स्वयं सेवकलाई खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण सम्वन्धी तालीम उपलव्ध गराउने योजना रहेको प्राविधिक अधिकृत शिव सुवेदीले बताए ।