नेपालगन्ज : भारतको बाराबंकीमा दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको शब नेपाल ल्याइदैछ । भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि.टि. ९९४४ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएका बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी प्रेम थारु र शितल थारु तथा दाङ तुलसीपुर उपमहानगरपालिका निवासी चक्रबहादुर ओलीको शव नेपाल ल्याउन लागिएको हो । दुई जना मृतक र केही घाईते राप्ती सोनारी गाउँपालिका निवासी रहेको पुष्टी भएपछि गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले मृतक तथा घाइतेका आफन्तलाई शनिबार बिहान रुपैडिहासम्म पुर्याउने ब्यवस्था मिलाएकी थिइन् ।
आफु चढ्ने गाडीमा राखेर उनले मृतक तथा घाइतेका आफन्तलाई रुपैडिहासम्म पुर्याएकी हुन् । यसका साथै मनिषाले भारतबाट शव ल्याउन आवश्यक समन्वय पनि गरेकी छन् । उक्त दुर्घटनामा आफन्त गुमाएका र घाइतेका परिवारहरु दुःख, पीडामा परिरहेका बेला गाउँपालिका उपाध्यक्ष मनिषाले साथ दिएकी हुन् ।
भारतबाट शव लिन ३ वटा एम्बुलेन्स पुगिसकेको र मध्यरात सम्म नेपाल आईपुग्ने उपाध्यक्ष थारुले बताइन् । ‘म पनि शव लिन नेपालगन्जसम्म पुग्दैछु, उताबाट एम्बुलेन्स हिडिसकेको कुरा जानकारीमा आएको छ,’ उनले भनिन् ।
मजदुरीका लागि भारत जादै गरेका गाउँका युवाहरु दुर्घटनामा परेपछि राप्ती सोनारी ५ बिनौना शोकमा डुबेको उपाध्यक्ष थारुले बताइन् । ‘गाउँ पुरै शोकमा डुबेको छ, उहाँहरुको पीडाले हामीलाई दुखेको छ,’ उनले भनिन् । उक्त दुर्घटनामा परी मृत्यु भएका अर्का एक जनाको भने अझै पहिचान हुन सकेको छैन ।
उक्त दुर्घटनामा परी करिव दुई दर्जन घाइते भएका थिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको भारतीय प्रहरीले जनाएको छ । सामान्य घाइतेलाई उपचारका लागि बाराबंकी जिल्ला अस्पतालमा भर्ना गरिएको छ, भने गम्भिर घाइते ६ जनाको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यो पनि पढ्नुस् :
भारतको बाराबंकी भयानक दुर्घटना, चार नेपालीको मृत्यु