बाँके(अगैया) : नेपाली काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले गठबन्धनलाई स्वीकारेर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् । ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तरगत कांग्रेस क्षेत्र नम्बर १ बाँकेले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको मनस्थिति बनाएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
गठबन्धनलाई सफल बनाउन सबै कांग्रेसजनलाई प्रतिबद्ध भएर लाग्न आग्रह पनि गरे । स्थानीय चुनावमा काँग्रेसले उल्लासपूर्ण विजय हासिल गरेको बताउँदै पुर्वमन्त्री समेत रहेका उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सुखद नतिजा आउने विश्वास ब्यक्त गरेका छन् ।
यस्तै कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले बिगतको निर्वाचनलाई आधार मानेर जाँदा पार्टीलाई क्षति पुग्ने बताए । सकेसम्म संघ नभए दुई वटै प्रदेशसभा क्षेत्र कांग्रेसले पाउनुपर्ने लबिङ आफूहरुले केन्द्रमा गरिरहेको उनको भनाई छ । विगतमा भएका कमी कमजोरीलाई सच्च्याउँदै कांँग्रेस एक ढिक्का भएर लाग्न सबैलाई आग्रह गरे ।
उक्त कार्यक्रममा महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, निवर्तमान जिल्ला सचिव एवं राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधी संगिता थारु, क्षेत्र नम्बर १ का निवर्तमान सभापति क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल तरुण दलका पूर्व महामन्त्री हुर्मत न्यौपाने, कांग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर राना लगायतले सम्बोधन गरेका थिए ।
प्रदेशसभा १ क का सभापति लक्ष्मण थारुले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।