नेपालगन्ज : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेका बिद्यालयमा आफुले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कण्ठिपुरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की छानामा ल्याइएको दाबी गरे । जिल्लाका विभिन्न ठाउँमा अझै काम गर्न आवश्यक रहेको बताए । समग्र विकासमा सडक पुर्वाधार, यातायात, खानेपानी लगायत चासोका साथ अगाडी बढाउने उनको भनाई छ । ‘खेलकुद भनेको राष्ट्रको लागि गहना हो, बिद्यालयलाई शिक्षा क्षेत्रमा नमुनाको रुपमा चिनाउन सक्नु पर्छ, स्वास्थ्य र शिक्षामा पार्टी हेरिदैन,’ उनले भने ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित उक्त बिद्यालयको चार कोठे पक्की भवनको मन्त्री गहतराजले उद्घाटन गरेका थिए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक शंकर चन्दले कार्य प्रगति प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा विशिष्ट अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष प्रशुराम बर्मा, बिद्यालय संस्थापक अध्यक्ष बलबहादुर ओली, वडा सदस्य रामसुहावन कुर्मी, अमृता सिंह, सुनिता कोरी , बिद्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल बिक, अफसर जहाँ साई, सृजना बस्नेत, रुपा पुन लगायतको उपस्थिती रहेको थियो ।