काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारस् जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन-पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।
बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताए ।