बाँके (खजुरा) : खजुरा गाउँपालिकाले गौरवका नयाँ योजनालाई अगाडी बढाएको छ । योजनालाई अगाडी बढाउन ठेक्का प्रक्रिया सुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.क.ले नयाँ गौरवका योजनालाई अगाडी बढाउने प्रक्रिया सुरु भइसकेको बताए । विगतका जनप्रतिनिधीले गरेका कमी, कमजोरीले केही योजना संकटमा परेको बताउँदै उनले ति योजना सम्पन्न गर्न आफुहरु लागिपरेको बताए ।
‘हिजोका जनप्रतिनिधीले कही न कही कमजोरी गरेको हुनुपर्छ, यहाँ दुई वटा योजना संकटमा छन्,’ बिकले भने ‘यहाँको सभागृह संकटमा छ, खानेपानीका पाईप अलपत्र अवस्थामा छन् ।’ उनले सभागृहको गुणस्तरमाथी नै प्रश्न उठाएका छन् ।
सभागृह निर्माण गर्ने ठेकेदार अहिलेसम्म सम्पर्कमा नरहेको र काम अगाडी नबढाएमा कालो सूचीमा राख्ने सम्मको तयारी रहेको अध्यक्ष बिकले जानकारी दिए । गाउँपालिकाले टुहुरा बालबालिकालाई आवासीय रुपमा पठन पाठन गराउन गौरवको योजना थालनी गरेको बताए ।
यस्तै खजुराको फोहोरमैला ब्यवस्थापनको काम थालिएको, खजुरा गाउँपालिकाभित्र बसपार्क निर्माण गर्न डिपिआरको प्रक्रियामा गएको, जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्झनामा वडा नम्बर २ मा स्मृती पार्क निर्माण गर्न डिपिआरको काम अगाडी बढाइएको बताए ।
प्राविधिक विश्व बिद्यालयका लागि धेरै मेहेनत गरिएको र त्यसको प्रतिफल स्वरुप अहिले विश्व बिद्यालयको सम्पर्क कार्यालय नेपालगन्जमा स्थापना भइसकेको अध्यक्ष बिकको भनाई छ । ‘विश्व बिद्यालयका लागि अहिले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढिसकेको छ,’ उनले भने । आफु निर्वाचित भएको एक सय दिनभित्रमा थुप्रै उपलब्धी हासिल गरेको अध्यक्ष बिकको दाबी छ ।
कार्यक्रम : 'जनतासँग जनप्रतिनिधी'- (भिडियो हेर्नुस् )