‘दूरसञ्चार डटकम’ समाचार पोर्टल स्थापना भएको आज एक वर्ष पुरा भएको छ । नेपाली जनता आफैले संविधान जारी गरेको गौरवपूर्ण र ऐतिहासिक दिन पनि हो, आज ।
२०७२ असोज ३ गते आजकै दिन संविधान सभाबाट संबिधान जारी भएको थियो । यस संबिधानले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । यस गौरवपूर्ण र ऐतिहासिक दिनलाई साक्षी राखेर हामीले २०७८ असोज ३ गतेका दिन दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.ले ‘दूरसञ्चार डटकम’ समाचार पोर्टललाई औपचारिक रुपमा सुरु गरेको थियो ।
पछिल्लो समय विश्वमा प्रविधिको विकास ह्वात्तै बढेको छ । प्रविधिले नेपालमा पनि फड्को मारेको छ । जसका कारण डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदै गएको छ । तत्कालै सूचना सम्प्रेसन गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने दिशामा यो पत्रकारिताले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ ।
छापा हुँदै विकसित भएर आएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । इन्टरनेट सुविधा प्रत्येक गाउँमा पुगिसकेको छ र कतिपय गाउँमा पुग्ने क्रम जारी छ । सरकारले नै गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ । सबैका हात-हातमा मोबाईल छन् । प्रायः सबैले इन्टरनेट चलाउन सक्छन् ।
झन् त सामाजिक सञ्जालले नागरिकलाई इन्टरनेटसँग नजिक बनाइरहेका छन् । पाठकलाई पल-पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्नसक्ने भएकाले डिजिटल पत्रकारिताको महत्व र आवश्यकता धेरै छ ।
प्रविधिले गर्दा नै पाठकले अनलाईनमा प्रकाशित भएका सूचना, समाचार र विचारलाई सहजै हेर्न र पढ्न सक्छन् । पाठकलाई पल-पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । यसले डिजिटल पत्रकारितालाई दु्रत गतिमा अगाडी बढायो ।
विगत दुई वर्षसम्म त कोरोना भाईरस (कोभिड(१९) महामारीले नेपालसहित विश्वलाई नै आक्रान्त बनायो । यसबाट सञ्चार क्षेत्र पनि अछुतो रहेन् । मुलुकमा फस्टाउँदै गएका मुलधारका मिडियाले समेत अनेक चूनौतीको सामना गर्नुपर्यो ।
यस्तो जटिल परिस्थितीमा पनि हामी उत्साहित भएर डिजिटल पत्रकारितालाई थप ब्यवसायिक, मर्यादित र उत्तरदायी बनाउनका लागि ‘दूरसञ्चार डटकम’ समाचार पोर्टल सुरु गर्यौं । मुलुकमा फस्टाउँदै गएका मुलधारका मिडियाले समेत अनेक चूनौतीको सामना गरिरहेका छन् ।
यो जटिल परिस्थितीमा पनि हामी उत्साहित भएर डिजिटल पत्रकारितालाई थप ब्यवसायिक, मर्र्यादित र उत्तरदायी बनाउनका लागि दूरसञ्चार डटकम समाचार पोर्टल सुरु गर्ने सामान्य कुरा थिएन । पत्रकारितालाई राज्यले चौथो अंगका रुपमा मान्यता त्यसै दिएको होईन । मुलुकको विकास र समृद्धिमा पत्रकारिताको पनि महत्वपुर्ण भुमिका रहन्छ ।
पत्रकारिताले ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पनि जिम्मेवार र जवाफदेही बनाउने काम गर्दछ । पत्रकारिता क्षेत्र लोकतन्त्रको एउटा महत्वपुर्ण स्तम्भ पनि हो । लोकतन्त्रमा मात्र पत्रकारिता सम्भव हुन्छ । जब लोकतन्त्र खतरामा पर्छ, तब पत्रकारिता पेशा संकटमा पर्छ । त्यसैले हामी जहिलेपनि प्रेस स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्दछौं र यही मान्यताका साथ पत्रकारितालाई अगाडी बढाएका छौं ।
संविधानले अंगीकार गरेका मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता सहितको बहुलवाद र मानव अधिकार हाम्रा आर्दश हुन् । संविधानले गरेको ब्यवस्था अनुसार आमनागरिकको जीवनलाई व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ । आमनागरिकले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा र राज्यले आमनागरिकलाई गर्ने ब्यवहारप्रति हाम्रो नजर जानेछ ।
राज्यका हरेक निकाय र आमनागरिकलाई पत्रकारिताको माध्यमबाट उत्तरदायी र जवाफदेही बनाउने हाम्रो प्रयास रहनेछ । स्थानीय तहमा भएका राम्रा कामको प्रशंसा र भ्रष्टाचार तथा अनियमितताको भण्डाफोर गर्नेछौं ।
सञ्चार माध्यमको पहुँचमा आउन नसकेका नागरिकसामु हामी हरदम पुग्नेछौं । ‘दूर’ अर्थात टाढा रहेका आमनागरिकका दैनिकी, उनीहरुका समस्या, भोगाई जस्ता विषयलाई सञ्चार माध्यममार्फत उजागर गर्ने हाम्रो मुल उद्देश्य नै हो । त्यसैले दुर्गमदेखी सुगम सम्मका खबर प्रवाहको काम ‘दूरसञ्चार डटकम’ ले निरन्तर गर्दै आएको छ ।
हामी सबैलाई समान नजरले हेर्दै आएका छौं । कुनैपनि राजनीतिक आस्थाबाट प्रेरित भएका छैनौं । कुनै राजनीतिक विचारलाई हामीबाट पक्षपोषण वा निषेध भएको छैन र आगामी दिनमा पनि हुन दिने छैनौं । सबै जाति, धर्म, वर्ण, लिंग, भुगोल, क्षेत्र र राजनीतिक आस्थाका आधारमा कसैलाई निषेध र कसैको पक्षपोषण गरिएको छैन ।
आगामी दिनमा पनि आमचासोका विषय, नागरिकको जीविकोपार्जन, सुशासन जस्ता विषयमा हाम्रो नजर हुनेछ । सफलताको एक वर्षे यात्राले हामीलाई थप उत्साहित बनाएको छ । दूरसञ्चार डटकममा प्रकाशन गर्ने हरेक सामाग्रीको गुणस्तरमा विशेष जोड दिएका छौं ।
दूरसञ्चार डकमका साथै हाम्रो युटुव च्यानल ‘दूरसञ्चार टिभी’ मार्फत भिडियो, रिपोर्ट तथा टेलिभिजन कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेका छौं । तसर्थ, हाम्रो यस अभियानले सफलताको एक वर्ष पुरा गर्नमा सबैभन्दा महत्वपूर्ण र प्रेरणाका स्रोत भनेकै आमपाठक वर्ग हुनुहुन्छ । यहाँहरु सबैको सदैव सल्लाह, सुझाव र प्रतिक्रिया सहित हामी आगामी यात्रा थाल्नेछौं । धन्यवाद !
सफलताको एक वर्ष : (भिडियो सामाग्री)