नेपालगन्ज : ‘एकातिर उत्सव, अर्कोतिर बिरोधका केही स्वर । यहीबीचमा नेपालको संविधान २०७२ जारी भयो । असोज ३ गते अर्थात आजकै दिन संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुकले नयाँ संविधान पायो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेका थिए ।
सोही संविधान जारी भएको आज ७ वर्ष पुरा भएको छ । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरेर संविधान घोषणा गरे । संविधानसभामा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नेपालको संविधान सोही मितिदेखि प्रारम्भ भएको घोषणा गरेका हुन् ।
तत्कालिन मधेशवादी दलले संविधानका केही बुँदामा असहमती जनाएका थिए । संविधान घोषणा भएको दिनलाई कालो दिनका रुपमा मनाउने गरेका मधेशवादी दलका बिरोधका स्वर बिस्तारै सुनिन छाडेका छन् ।
२०६४ को संविधान सभाले संविधान बनाउन नसकेपछि स्वतः विघटन भएको थियो । २०७० मा पुनः दोस्रो संविधान सभा निर्वाचन घोषणा गरियो । नयाँ संविधानमा राख्नुपर्ने विषयबारे दलहरु बीच भएका असहमतीलाई सहमतीमा ल्याएर दोस्रो संविधान सभाले संविधान जारी गर्न सफल भयो ।
यो संबिधान विश्वकै उत्कृष्ट भएको बताइरहँदा यसको कार्यान्वयनमा भने अझै चुनौती नै रहेको संविधानका ज्ञाता बताउँछन् । नेपाली जनताका प्रतिनिधी आफैले बनाएको यो संविधान विश्वकै उत्कृष्ट छ । यसले तराई, पहाड र हिमालसहित सबै जाती, भाषा, धर्म र समुदायलाई समेटेको छ । तर संविधानको कार्यान्वयन जसरी हुनुपथ्र्यो, त्यसरी हुन नसकेको उनीहरु बताउँछन् ।
नेपाली जनताका प्रतिनिधी आफैले बनाएको यो पहिलो संविधान हो । लामो प्रयासपछि जारी भएको संविधान कार्यान्वयनमा अनेक चुनौती आउने गरेको छ । आफैले बनाएको संविधान कार्यान्वयनमा दलहरु आफैले बाधा पुर्याइरहेका छन् ।
दलहरुले गरेका संविधान विपरितका गतिविधी र क्रियाकलापले संविधान कमजोर हुने हो कि भन्ने चिन्ता आम नागरिकलाई छ । नेपालको संविधान २०७२, नेपालको सातौ संविधान हो । यसअघि २००५ साल असार १२ गते राणा प्रधानमन्त्री मोहनशम्सेरले नेपाल सरकार बैधानिक कानुन, २००४ जारी गरेका थिए ।
यसलाई नेपालको पहिलो संविधान मानिन्छ । राणा शासन पछि २००८ सालमा राजा त्रिभूवनले नेपाल अन्तरिम शासन विधान जारी गरेका थिए । यसै गरी २०१५ साल फागून १४ गते र २०१९ साल पुष १ गते राजा महेन्द्रले दुईवटा संविधान जारी गरेका थिए ।
२०४६ सालको जनआन्दोलन पछि राजा बीरेन्द्रबाट नेपाल अधिराज्यको संविधान २०४७ जारी गरेका थिए । यो संविधान नेपालको अन्तिरिम संविधान, २०६३ बने पछि खारेज भएको थियो । करिव नौ बर्षको विमर्स पश्चात संविधान सभाबाट जारी भएको यो संविधान नै निर्माण प्रक्रियामा सबै भन्दा बढी छलफल गरिएको संविधान हो । यस अघिका सबै संविधान राजाको विशेषअधिकार प्रयोग गरी जारी गरिएको थियो ।
नेपालको संविधान, २०७२ मा ३५ भाग, ३०८ धारा, र ९ अनुसूचि रहेको छ । यस संविधानले नेपाल राष्टको परिभाषा दिँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वथन्त्रता, अखण्डता, राष्ट्रिय हीत तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र भनेको छ ।
नयाँ संविधान जारी भएपछि नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा मानेको छ । तर सरकारी कामकाजको भाषा भने नेपाली भएको छ । संविधानमा ३१ वटा मौलिक हक समाबेश गरिएको छ । मौलिक हकमा सबै नागरिक कानुनका दृष्टिकोणले समान हुने व्यबस्था छ ।
२०७२ को संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय, प्रदेश र संघिय सरकार स्थापना भएका छन् । सोही संविधानले धार्मिक स्वतन्त्रता अन्तर्गत हरेक व्यक्तिले आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्न पाउने स्वतन्त्रतालाई प्रष्ट गरेको छ ।