बाँके(कुसुम) :
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम क्षेत्र पछिल्लो समयमा विश्वकै दुर्लभ पाटेबाघ पाइने क्षेत्रका रुपमा चिनिएको छ । अहिले उक्त क्षेत्रमा प्रसस्त मात्रामा पाटेबाघ देखा परिरहेका छन् । पाटेबाघ अवलोकन गर्न विदेशी पर्यटकहरु लाखौं रुपैया खर्च गरेर नेपाल आउँछन् । तर, मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जभित्र बढेको पाटेबाघको संख्याले अहिले सबैको ध्यान तानेको छ ।
राप्ती सोनारीको वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको ठुलो समुह बसिरहेको तथ्य सार्वजनिक भएको हो । निकुञ्ज कार्यालयले हालै बिछ्याएको ‘क्यामेरा ट्रापिङ’ बाट उक्त बाघको बथान फेला परेका हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा एक साताअघि स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने भारतीय नागरिकलाई बाघले राजमार्गबाट करिव ५ सयमिटर निकुञ्जभित्र लगेर खाएको थियो ।
बाघले आधा शरिर खाएको अवस्थामा उनको शव भेटिएको थियो । बाघले सोही गाउँमा बाख्रा र गाईलाई पनि मारेको थियो । पाटेबाघले गाउँ आसपासको क्षेत्रमा आफ्नो उपस्थिती देखाउन थालेपछि निकुञ्जले निगरानी बढाउन विभिन्न सम्भावित ठाउँमा क्यामेरा बिछ्याएको थियो । यसका साथै दुई वटा हात्तीसहित नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित रुपमा गस्ती गर्दै आएका थिए ।
उक्त बाघ नियन्त्रण गर्न निकुञ्जले आहाराका लागि गाभर नजिकको जंगलमा एउटा राँगो नै बाँधेर राखिदिएको थियो । तर, बाघले राँगोलाई नखाएर आफ्नो दिशा परिर्वतन गरेको निकुञ्जका कर्मचारीको आशंका छ । आइतबार बेलुकी साढे ५ बजेतिर दुई वटा पाटेबाघको जोडी एक्कासी गाउँभन्दा करिव ३ किमी पुर्वस्यानीखोली राजमार्ग जंगलमा फेला परेपछि बाघ पुरानै ठाउँमा फर्किएको अनुमान गरिएको थियो ।
यसरी फेला पारिएको पाटेबाघको बथान
निकुञ्ज प्रशासनले बाघको निगरानी बढाउनका लागि बिछ्याएको क्यामेरामा सोचेको भन्दा बढी बाघ फेला परेका हुन् । निकुञ्जले सिमित ठाउँमा बिछ्याएको क्यामेरामा छोटो अवधिमा चार वटा वयस्क पाटेबाघ फेला परेको प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
चार वटै बाघलाई गाभर र सौरीको बीच जंगलमा क्यामेराले कैद गरेको बताए । त्यहाँ अरु बाघ पनि रहेको उनको अनुमान छ । शाहले भने, ‘अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्ती सोनारीको गाभर र सौरी बीचको जंगल हो ।
क्यामेरामा कैद भएका चार वटा बाघ मान्छेलाई आक्रमण गरेको मध्येकै हुन वा होईनन्, भन्नेमा यसबारे एकिन हुन नसकेको प्रमुख शाहको भनाई छ । क्यामेरामा परेका बाघ सबै वयस्क रहेका छन् । केहीदिन अघि मान्छे खाएको बाघलाई निकुञ्जले माउलाई छाडेर स्वतन्त्र पुर्वक हिडिरहेका बच्चा बाघ भएको हुन सक्ने अनुमान गरेको थियो ।
निकुञ्जको पुर्वी सेक्टर अन्र्तगत पर्ने कुसुम क्षेत्र पाटेबाघको राम्रो बासस्थान रहेको पुष्टी भएको कर्मचारी बताउँछन् । कुसुम क्षेत्रमा बाघको संख्या अझै धेरै रहेको हुन सक्ने कर्मचारीको आशंका छ । बाघले मान्छे र पशु चौपायामाथी आक्रमण गर्न थालेपछि निकुञ्जले दुई वटा हात्तीमार्फत नियमित अनुगमन गरिरहेको र सेना तथा कर्मचारीले पनि नियमित गस्ती गर्दै आएको र नियन्त्रण गर्न कठिनाई भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
‘बाघ निकुञ्जभित्र आफ्नै बासस्थानमा रहेपछि कुनै समस्या हुदैन, तर राजमार्ग र मानवबस्ती तिर छिर्लान कि भन्ने चिन्ता हामीलाई छ,’ शाहले भने ।
सम्बन्धित समाचार : 'मान्छे खाने पाटेबाघसँग भाग्यले बच्यौं'
हेर्नुस्, पाटेबाघको ताजा भिडियो :