नेपालगन्ज : निर्वाचन आयोगले हरेक निर्वाचनमा आचार संहिता लगाउँछ । निर्वाचन आउनुभन्दा केही समय अघिदेखी नै आयोगले आचार संहिता लगाउने गर्छ । तर, आयोगले जारी गरेको आचार संहितालाई दल र सरकारबाटै उल्लंघन हुन्छन् ।
विगतका निर्वाचनमा सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री, सत्तारुढ दल र प्रतिपक्षी दलले आचार संहिताको ठाडै उल्लंघन गरेका थिए । आयोगले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर असोज १२ गते अर्थात् बुधबार(भोली)देखी निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने तयारी गरिरहेको छ ।
तर, आयोगले लागु गर्ने आचार संहिताको पूर्ण पालना हुनेमा नागरिकहरु कत्तिपनि विश्वस्त छैनन् । ‘निर्वाचन आयोगले आचार संहिता बनाउने काम मात्रै गर्छ, तर आचार संहितालाई पूर्ण रुपले पालना गराउन सक्दैन,’ सर्बसाधारण नागरिक भन्छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचार संहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताएका छन् । आयोगले गत भदौं १३ गते उक्त आचार संहितालाई नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी बनाउनका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।
आयोगको आचार संहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।