नेपालगन्ज : अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक क्लब नेपालगन्ज १२ को आयोजना तथा वडा कार्यालयको सहयोगमा शनिबार औपचारिक कार्यक्रमका साथ सम्मान गरिएको हो ।
जेष्ठ नागरिक क्लबका अध्यक्ष अतिजकुमार शर्माको सभापतित्वमा वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपालगन्ज-१२ कोरियनपुर निवासी ८५ वर्षीया नगु कोरी, ८५ वर्षकै दुलारी देवी सुडी, बेलासपुरका ८५ वर्षीय भुपेन्द्रप्रकाश शर्मा, बेलासपुरकै ८४ वर्षीया कौशिल्या चिडिमार, बेलासपुरकी ८३ वर्षीया महेन्द्र तमोली र कोरियनपुर निवासी ८३ वर्षीया धनदेवी प्याकुरेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मी, जेष्ठ नागरिक तथा नेपाली कांग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झना, नेकपा एमालेका नेता एवम् जेष्ठ नागरिक डम्बर सुवेदी, वडा नम्बर १२ का वडाअध्यक्ष तरुणकुमार बज्राचार्य, वडाका अन्य जनप्रतिनिधी, स्थानीय समाजसेवी, सञ्चारकर्मी, जेष्ठ नागरिक अगुवा लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा उपस्थित जेष्ठ नागरिकलाई सदस्यता प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित भएका सहभागीले जेष्ठ नागरिकको सम्मान गरेकोमा आयोजक र वडा नम्बर १२ कार्यालयको प्रशंसा गरेका थिए ।