नेपालगन्ज : नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाएका छन् । आफ्नो ३९ औं जन्मोत्सवको अवसरमा उनले शनिबार ३९ विरुवा रोपेका हुन् ।
नेपालगन्जस्थित हनुमानगढी गौशालामा वृक्षारोपन गरिएको काफ्लेले बताए । गौशालामा अर्जुन, बर्रो, सलिफा, लहरे आँप, घण्टी फुल, असारे फुल, पिपला, गुलाफको फुल, कनेरको फुल, अगस्त, ईमिली, आँख, तितेपाती, पथर चट्टा, पान, चमेली, करबिर लगायतका विरुवा रोपिएको उनले जानकारी दिएका छन् ।
सो क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का निर्वतमान वडाअध्यक्ष सुनिलसिंह हमाल, हरि आचार्य, नमुना आचार्य , मिन मल्ल, राजु शाह, निलराज अधिकारी लगायतको उपस्थिती रहेको थियो । जन्मदिनको अवसरमा शनिबार नै काफ्लेले रक्तदान पनि गरेका छन् ।
उनले समाजका प्रतिष्ठित ब्यक्तिलाई जन्मदिनको अवसर पारेर विरुवा बाँड्दै आएका छन् । शिक्षण पेशामा आवद्ध रहेका उनी स्तम्भकार पनि हुन् । उनी कपास विकास समिति केन्द्रिय कार्यालय खजुरा बाँकेमा अध्यक्षको जिम्मेवारीमा पनि छन् ।