बाँके(राप्ती सोनारी) : बाँकेको क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि अहिलेसम्म १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत संदिप ढकालले दिएको जानकारी अनुसार अहिलेसम्म प्रतिनिधी सभाका लागि नेपाली कांग्रेस विपी, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी(नेमकिपा), जनता समाजवादी पार्टी(जसपा), नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले मात्र दर्ता गराएका छन् ।
यस्तै प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) र राप्रपाले मात्र उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ढकालले बताए ।प्रतिनिधी सभामा नेपाली कांग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेकपा एमालेका तर्फबाट सुर्यप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट नविन कुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ती पार्टीका सुरेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी प्रदेश सभा-१ (२) मा राष्ट्रिय जनमुक्ती पार्टीका गगनबहादुर थापा, नेकपा एमालेका दुर्गाप्रसाद चौधरी र नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभा-१ (१) मा नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नरेन्द्रकुमार चौधरीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ढकालले बताए ।
उक्त क्षेत्रमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । जनता समाजवादी पार्टी भने सत्तारुढ गठबन्धनबाट बाहिरिसकेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उक्त क्षेत्रको प्रतिनिधी सभा र प्रदेश सभा-१ (१) मा नेकपा माओवादीको भागमा परेको छ । यस्तै सत्तारुढ गठबन्धनबाट प्रदेश सभा-१ (२) नेपाली कांग्रेसले पाएको छ ।
उम्मेदवारी दर्ता गराउन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार भने अझै नपुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय अगैयामा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।