नेपालगन्ज : बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । मौसम प्रतिकुलताका कारण समयमा पुग्न नसकेपछि उनले निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत लोकबहादुर रावलले जानकारी दिए ।
उम्मेदवारी दर्ता गराइसकेपछि नेता राठौंर आइतबार बेलुका बाँके आइपुगेका छन् । बाँके आइपुगे लगत्तै उनी पितृ शोकमा रहेका जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको घरमा समवेदना ब्यक्त गर्न पुगेका थिए । सोही क्षेत्रमा नेकपा एमालेका तर्फबाट किस्मतकुमार कक्षपति, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट रविन्द्रमान श्रेष्ठ, जसपाका नोयन्द्र धिताल लगायतले पनि उम्मेदवारी दर्ता गराए ।
यस्तै प्रदेश सभा ३(१) मा नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल, नेकपा एमालेका रत्न खत्री, नागरिक उन्मुक्ती पार्टीबाट चन्तराम थारु, जसपाबाट गयासुद्धिन खान, स्वतन्त्र उम्मेदवार दलबहादुर सुनार लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रदेश सभा ३(२)बाट नेपाली कांग्रेसका बादशाह कुर्मी, नेकपा एमालेका भिमबहादुर ओली, जसपाका विजयकुमार पाठक, नागरिक उन्मुक्ती पार्टीबाट जाकिर हुसेन लगायतले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रमा पनि नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ, भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ ।
अविरल वर्षाका कारण उम्मेदवारी दर्ता कार्यक्रम केही समयसम्म प्रभावित बनेको थियो । उम्मेदवारहरु ढिलो पुगेका कारण राती अबेरसम्म मनोनयन दर्ता प्रक्रिया चलेको थियो ।