नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका नाला तथा ढल सफाई गरिएको छ । अविरल बर्षापछि अवरुद्ध रहेका नाला तथा ढलको सोमबार नगर प्रमुख प्रशान्त विष्टको अगुवाईमा सफाई गरिएको हो ।
उपमहानगरपालिकाको वडा नम्बर २ र ४ का विभिन्न बस्तीमा जेसिबी प्रयोग गरी अवरुद्ध नाला तथा ढल सफाई गरिएको हो । नगर प्रमुख विष्ट नेतृत्वको उक्त टोलीले वडा नम्बर ४ स्थित द रेडिसन होटल छेउमा अवरुद्ध नाला, वडा नम्बर ४ स्थित लक्ष्मी चलचित्र मन्दिर पछाडी रहेको नाला, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको उत्तरतर्फ रहेको नाला लगायत सफाई गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।
नाला तथा ढलको अवस्था बुझेर अब ठोस कार्ययोजनाका साथ दीर्घकालिन समाधान खोज्ने गरी अगाडी उनले बताएका छन् । ‘अबको १५ दिनभित्र नाला तथा ढलको लगत संकलन गरेर यथार्थ विश्लेषण गर्छौ, त्यही अनुसार कार्ययोजना अगाडी बढाउँछौं, दीर्घकालिन समाधान खोज्ने दिशामा अगाडी बढ्छौं,’ विष्टले भने ।
सधैं डुवान हुने उपमहानगरको सेतु बिक चोक क्षेत्रको अवलोकन गर्दै पानी सहज निकास गर्ने विषयमा पनि उनले प्राविधिकसँग छलफल गरेका छन् । द रेडिसन होटल छेउमा पर्खाल भत्काएर पानीको निकास खोलिएको छ ।
सो क्रममा नगर प्रमुख विष्टसंगै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिबी ओली लगायत उपस्थित भएका थिए ।