बाँके(राप्ती सोनारी) : बिद्युत सेवा सुचारु गर्न तार तान्ने क्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित जरुवा-भम्का घाटमा डुंगा पल्टिदाँ एक जना प्राविधिक बेपत्ता भएका छन् । बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ५ निवासी अन्दाजी २४ वर्षका राजाराम चौधरी बेपत्ता भएका हुन् ।
राप्तीमा आएको बाढीले एक साताअघि वारीबाट पारितिर विस्तार गरिएको बिद्युत तार तथा पोलमा क्षति पुर्याएको थियो । उक्त बिद्युत लाईन मर्मतका लागि तार तान्न डुंगाबाट राप्तीपारी भम्का जाने क्रममा शनिबार बिहान साढे १० बजेतिर डुंगा पल्टिएको थियो । डुंगा पल्टिएर चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय कुुसुमका ईन्चार्ज एवम् सई पुष्करराज जोशीले जानकारी दिए ।
डुंगामा सवार ६ जना प्राविधिक नदीमा डुबेपनि अन्य ५ जना बाँच्न सफल भएको उनले बताए । ‘नदीमा डुबेका ब्यक्तिको दिनभर खोजी गर्दा पनि कतै पत्ता लागेन,’ उनले दूरसञ्चार डटकमसँग भने ।
डुंगा पल्टेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दिनभर नदी आसपासको क्षेत्रमा खोजी गरेको थियो । तर, शनिबार बेलुकासम्म पनि कतै नभेटिएको सई जोशीले बताए ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष एवम् कुसुम ग्रामिण सामुदायिक बिद्युत सहकारी संस्थाका अध्यक्ष यमबहादुर खड्काले नदीको सतह अझै नघटेको र बिद्युत तार तान्न डोरी बोकेर डुंगाबाट जाने क्रममा पल्टिएको बताए । ‘पानीको सतह अझै घटेको छैन, एक हप्तादेखी राप्तीपारी अवरुद्ध रहेको बिद्युत सुचारु गर्न खोज्दा डुंगा पल्टियो,’ उनले भने ।
यो पनि पढ्नुस् :
क्षतिग्रस्त बिद्युत अझै अवरुद्ध, कुसुम राप्तीपारीका गाउँ अन्धकार