नेपालगन्ज : आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सबै पार्टी पंक्ति होमिनुपर्ने नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले निर्णय गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा आइतबार क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन सक्रियता पुर्वक खटिन आब्हान गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिए । उनका अनुसार क्षेत्रीय सभापति गुप्ताको संयोजकत्वमा अनुगमन तथा सुपरिपेक्षण समिति पनि गठन गरिएको छ ।
बाँके प्रदेश सभा-२ 'क' का सभापति ज्ञानेन्द्रकुमार चौधरी र प्रदेश सभा-२ 'ख' का सभापति जितेन्द्रबहादुर हमालको संयोजकत्वमा दुई छुट्टा छुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरिएको हमालले बताए । सचिव हमालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै क्षेत्रीय कोषाध्यक्ष अजमल खाँको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान जिल्ला सभापति किरण कोइराला, संविधान सभा सदस्य अब्दुल हमिद सिद्दीकी 'भोला', पूर्वसांसद कैलाशनाथ कशौधन गुप्ता, बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेश सभा २ क का उम्मेदवार राजकुमार बर्मा, प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशका निवर्तमान सांसद मोहम्मद याकुब अन्सारी, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला लगायतको उपस्थिती रहेको थियो ।