नेपालगन्ज : जनता समाजवादी पार्टी (जसपा) का नेता एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन् । जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवार छान्न पनि मतदातालाई अपिल गरेका छन् ।
बाँके क्षेत्र नम्बर २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरु उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यस पटकको निर्वाचनेले नै जवाफ दिने ठोकुवा गरे । निर्वतमान भौतिक योजना तथा यातायात मन्त्री समेत रहेका नेता राईले आफूले धर्म र सम्प्रदायको ठेकेदारी नभई समग्र जनताको सेवक बनेको पनि दाबी गरे ।
‘कोही आइरहेका छन् धर्मको ठेकेदारी लिएर, समाजमा विखण्डन ल्याउन र सामाजिक सद्भाव बिथोल्ने मुद्दा बोकेर भोट मागिरहेका छन्, राजा बन्ने सोच भएकाहरू त्यही पुरानो सोच लिएर चुनावमा आइरहेका छन,’ उनले भने ‘तर म राजा बन्न होइन, तपाईंहरूको क्षेत्रको विकासका लागि भोट मागिरहेको छु, म राजा बन्न वा कसैलाई राजा बनाउन होइन तपाईंहरूको चौकीदार बन्न राजनीतिमा आएको हुँ र फेरि पनि तपाईंहरूकै चौकीदारी गर्नका लागि भोट मागिरहेको छु ।’
चुनाव प्रचार-प्रसारका लागि जसपाले निर्वाचन क्षेत्रका सबै वडामा प्रचार कार्यालय खोलिरहेको छ । नेपालगन्ज उपमहानगर वडा नंम्बर २२ को पुरैनी, शान्ति चोक, वडा नम्बर १० को गोसाईगाउँ, वडा नम्बर २० मनिकापुर, राँझा एयरपोर्ट, वडा नम्बर २३ को भज्जुपुरवा, वडा नम्बर ५ र वडा नम्बर ११ को नाका टोलमा प्रचार-प्रसार कार्यालय खुलेका हुन् ।