काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको सरकारले राजनीतिक कोटामा राजदूत बनाएर पठाएका सबैलाई फिर्ता बोलाउने भएको छ ।
अघिल्लो सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै अमेरिका, बेलायत, चीन, भारत, मलेसिया, स्पेन, दक्षिण अफ्रिका, इजरायल, बंगलादेश र कतारबाट राजदूत फिर्ता हुनेछन् ।
नेपालका विभिन्न ३३ मिसनमा राजदूत पद रहेकोमा अहिले ११ मिसनमा खाली छ । ओली नेतृत्वको अघिल्लो सरकारले पछिल्लोपटक विभिन्न ११ देशमा गरेको राजदूत सिफारिस वर्तमान सरकारले खारेज गरेपछि नियुक्ति हुन सकेको छैन ।
हाल राजदूत खाली रहेका मुलुकमा डेनमार्क, श्रीलंका, कोरिया, इजिप्ट अस्ट्रेलिया, ब्राजिल, रुस, बहराइन, म्यानमार, अस्ट्रिया र साउदी अरेबिया छन् ।