बाँके (राप्ती सोनारी) : बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको प्रतिनिधी सभा र प्रदेश सभामा पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई शसक्त पारेको छ । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ शनिबार बाँके आए लगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो ।
गृहजिल्ला आएलगत्तै उनले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तिब्रता दिएका छन् । राप्ती सोनारी-२ अगैयामा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले परिवर्तनकारी शक्तीबीच भएको गठबन्धनले संबिधान र ब्यवस्थाको रक्षा गर्ने बताए ।
प्रतिगमनकारीबाट संविधान र ब्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको कुरा प्रष्ट्याए । खेलकुद मन्त्री गहतराजले परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताए ।
तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुन गठबन्धनमा आवद्ध कार्यकर्तालाई आग्रह गरे । ‘ब्यवस्था बद्लियो, अब जनताको अबस्था बदल्न जरुरी छ, पाँच दलिय गठबन्धन भित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्छ,’ उनले भने ।
आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको गहतराजको भनाई छ । ‘क्षेत्र नम्बर १ का बिद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता, सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उनले भने ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफु समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकोमा खेलकुद मन्त्री गहतराजले क्षमा मागेका थिए । पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत उनले जनाएका छन् । बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री 'अथक' को जोड छ ।
चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राखे । उनले थपे, ‘आजको ब्यवस्थाप्रति माओवादी र काँग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा-१ ‘क’ का उम्मेदवार कृष्णा केसी नमुनाले ब्यक्ति भन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनोट भएकाले गठबन्धका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन् । गठबन्धनको मर्म भन्दा बाहिर नजाने उनको जोड छ । गएको पाँच वर्षमा विकासको आधार तयार पारिएको दाबी गर्दै केही काम बाँकी रहेको र केही पाइप लाईनमा भएको बताइन् ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, पुर्वसभासद द्धय पट्टु थारु र अशोक रोकाय, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, कांग्रेसका जिल्ला सदस्य टिकाराम बस्नेत, कांग्रेस राप्ती सोनारी सभापति भिम बहादुर रानाक्षेत्री, नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिमबहादुर घर्ती लगायत गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
अगैयामा गठबन्धनको सम्पर्क कार्यालय खोलियो
बाम-लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा-१ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा आएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा शनिबार कार्यालय उद्घाटन गरिएको हो ।
लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकले पट्टु थारूको संयोजकत्वमा १ हजार ५ सय ५१ सदस्यीय प्रदेश निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सह-संयोजकमा अमरबहादुर बुढाथोकी रहेका छन् । यस्तै पट्टु थारूको संयोजकत्वमा १३ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।