नेपालगन्ज : आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर २ मा उम्मेदवारले आफ्नो गतिविधी बढाएका छन् । उम्मेदवारहरु पछिल्लो समयमा मतदाता केन्द्रित गतिविधीमा सहभागी हुने गरेका छन् ।
बाँके क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले मतदाता भेटघाटलाई तिब्रता दिएका हुन् । नेपाली कांग्रेस सहित गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा सोमबार नेपालगन्ज र डुडुवाका विभिन्न ठाउँमा आयोजित घरदैलो तथा कोण सभामा सहभागी भए ।
भेटघाटका क्रममा उनले आफुलाई एक पटक मौका दिन मतदातालाई अपिल गरेका थिए । यस्तै नेकपा एमालेको सर्मथनमा मैदानमा उत्रिएका राप्रपाका उम्मेदवार डा. धवलसम्शेर राणा पनि चुनावी कार्यक्रममा सहभागी भए । जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले पनि घरदैलोलाई निरन्तरता दिएका छन् ।
शिव सेनाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका हिन्दुवादी नेता दिवाकर खनालले पनि चुनावी अभियानलाई निरन्तरता दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद अग्रहरीले घरदैलो गर्दै मतदातालाई भेटघाट गरेका छन् । उक्त क्षेत्र अन्तरगत रहेको प्रदेश सभा-२ ‘क’ र ‘ख’ मा उम्मेदवारी दिएका उम्मेदवारले पनि आफ्नो भेटघाटलाई तिब्रता दिएका छन् ।
प्रदेश सभा-२ ‘क’ का नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवार राजकुमार वर्मा, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार, जनता समाजवादी पार्टीका भण्डारीलाल यादव, नेकपा एमालेका विजय यादव तथा प्रदेश सभा-२ ‘ख’ मा नेपाली कांग्रेसका सुरेन्द्र हमाल, स्वतन्त्र उम्मेदवार डा. बिनोद कर्ण, एमालेका निरक गुरुङ, जसपाका आदेश अग्रवाल, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम लगायतले मतदाता भेटघाटलाई जारी राखेका छन् ।