नेपालगन्ज : आसन्न निर्वाचनमा होमिएको नेपाली कांग्रेस सहितको गठबन्धनले बाँके क्षेत्र नम्बर २ मा आफ्नो प्रचार–प्रचारलाई सशक्त ढंगले अगाडी बढाएको छ । क्षेत्र नम्बर २ मा कांग्रेसले पाँच दलिय गठबन्धनको तर्फबाट सुदिपनरसिंह राणालाई प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनाएको छ ।
प्रदेश सभा-२ 'क' मा कांग्रेसले राजकुमार वर्मा र प्रदेश सभा-२ 'ख' मा सुरेन्द्र हमाललाई मैदानमा उतारेको छ । कांग्रेसका तिनै जना उम्मेदवारहरु मंगलबार पनि दिनभर घरदैलोमा ब्यस्त भएका छन् ।
प्रदेश सभा-२ 'क' अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा प्रतिनिधी सभाका उम्मेदवार राणा, प्रदेश सभा-२ 'क' का उम्मेदवार वर्मासहितको उपस्थितीमा घरदैलो तथा भेटघाट गरिएको हो । नेपालगन्ज १८ लग्दहवा र कारकाँदोमा गरिएको घरदैलोमा स्थानीय मतदाताहरु उत्साहित भएको प्रदेश सभा सदस्यका उम्मेदवार वर्माले बताए ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित फुलटेक्रा, रामनगर लगायत स्थानमा घरदैलो गरिएको छ । प्रतिनिधी सभा सदस्यका उम्मेदवार राणा, प्रदेश सभा-२ 'ख' का उम्मेदवार हमाल, प्रदेश सभाका समानुपातिक उम्मेदवार माया पुन र सुशिला नेपालीसहित नेता, कार्यकर्ताहरु घरदैलोमा पुगेर मत मागेका थिए ।
त्यस क्रममा मतदाताले उम्मेदवार आफुहरुलाई शुभकामना सहित अग्रिम बधाई दिएको उम्मेदवार राणाले बताए । मतदाताको माया र स्नेहले आफुहरुमा उत्साह थपिएको प्रदेश सभाका उम्मेदवार हमालले सुनाए । ‘नेपाली कांग्रेसका उम्मेदवारप्रति मतदातामा धेरै भरोसा रहेको हामीले पायौं, हामी जहाँ पुग्छौं, त्यहाँका मतदाताले हामीलाई राम्रो रेसपोन्स गर्नुभयो,’ उनले भने ।