कोहलपुर : बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको प्रदेश सभा १(१) मा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार फुलाराम थारुको पक्षमा चुनावी माहोल तात्तेको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सहित गठबन्धनमा आवद्ध दलका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा उक्त प्रदेश सभामा फुलाराम झण्डै दोब्बर मतको अन्तरले अगाडी देखिन्छन् । तथापी, उनले आफ्नो प्रचार अभियानलाई तिब्रता दिइरहेका छन् ।
थारु समुदायको समेत उल्लेख्य बसोबास रहेकाले प्रदेश सभा १(१) मा चुनाव जित्न फुलारामका लागि सहज देखिएको स्थानीय बासिन्दाको आंकलन रहेको छ । चुनाव जित्ने उच्च मनोबलका साथ फुलाराम अचेल दिनहुँजसो कोण सभा, भेटघाट तथा छलफलमा ब्यस्त हुने गरेका छन् ।
चुनावी अभियान अन्तरगत मंगलबार कोहलपुर नगरपालिका वडा नम्बर ९, ११ र १५ मा भेला तथा प्रचार प्रचारमा सहभागी भएको उम्मेदवार फुलारामले सुनाए । ‘मनोनयन दर्ता गरेपछि नै हाम्रो अभियान सुरु भएको हो, बाम-लोकतान्त्रिक गठबन्धनमार्फत मतदाता भेटघाट अभियान चलाइरहेका छौं, मतदाताको मायाले धेरै नै उत्साहित भएका छौं,’ उनले भने ।
मंगलबारको भेला तथा मतदाता भेटघाटका क्रममा उक्त गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वरजंग गहतराज अथक, नेपाली कांग्रेस बाँकेका उप-सभापति कृष्ण कार्की, जिल्ला सचिव सञ्जु कुमारी चौधरी, निर्वतमान प्रदेश सांसद उषा पुन, नेपाली कांग्रेस प्रदेश सभा १ (१) का सभापति बलराम शर्मा, नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपाने लगायत सहभागी भएका थिए ।