कैलाली : बंगुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग सुदुरपश्चिमको कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीले भजनी नगरपालिका-३ को बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिको फार्ममा पालिएको बंगुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए ।
‘कार्यालयमा मरेको बंगुरको शव परीक्षण र र्यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ,’ उनले भने । यो रोगको सङ्क्रमणपछि सुँगुर तथा बंगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण भई बथानमा एकसाथ ठूलो संख्यामा सुँगुर, बंगुर तथा बँदेल मर्ने गरेको बताइएको छ ।
यो रोग खासगरी रोगी बंगुर तथा त्यसका पाठापाठी वा मासु, रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलिन सक्ने बताइएको छ ।
यो रोगविरुद्ध हालसम्म कुनै खोपको उत्पादन नभई प्रभावकारी उपचारको व्यवस्थासमेत नभएको अवस्थामा सङ्क्रमण फैलिएमा एकसाथ ठूलो संख्यामा बंगुर तथा सुँगुर मर्न गई ठूलो क्षति पुग्न सक्ने पशु चिकित्सले बताएका छन् । यो रोग पशुपन्छीबाट मान्छेमा नसर्ने बताइएको छ ।