नेपालगन्ज : बिद्युतीकरणको काम सम्पन्न भएपनि मिटर जडानमा ढिलाई गरिदिएको भन्दै बाँके, राप्ती सोनारीका स्थानीय बासिन्दा बुधबार बिद्युत प्राधिकरण नेपालगनजमा डेलिगेशनका लागि आएका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधी, राजनीतिक दलका नेता, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, स्थानीय उपभोक्ता लगायत डेलिगेशनमा आएका हुन् । उनीहरुले नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज र प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई भेटेर तत्काल मिटर जडानको ब्यवस्था मिलाईदिन अनुरोध गरे ।
डेलिगेशनका क्रममा प्राधिकरण डिभिजन प्रमुख सुरज गौतम र वितरण प्रमुख लखनलाल मल्लिकले एक अर्कामाथी आरोप प्रत्यारोप गरेका थिए । राप्ती सोनारी गाउँपालिकाले आफ्नै लगानीमा वडा नम्बर ३ मा विद्युतीकरणको काम सम्पन्न गरी गत चैत १८ गते प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।
प्राधिकरणलाई हस्तान्तरण गरिसकेपछि बिद्युत उपभोक्ताले मिटर जडानका लागि निवेदन दिन सुरु गरेका थिए । प्राधिकरणलाई मिटर जडानका लागि अग्रिम रकम बुझाईसकेको महिनौं बितिसक्दा पनि अहिलेसम्म बत्ती बाल्न नपाएको स्थानीयको गुनासो छ ।
डेलिगेशनमा आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सदस्य हेमकुमार डाँगी, युवा नेता सन्तोष चौधरी लगायतले बिद्युत प्राधिकरणले मिटर जडानमा उपभोक्तालाई झुलाउने काम गरिरहेको गुनासो गरे ।
प्राधिकरणका डिभिजन प्रमुख गौतमले राप्ती सोनारी गाउँपालिकाको लागि आफुले मिटरको ब्यवस्थापन चाडै गरिदिने आश्वासन दिए । प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख मल्लिकले डिभिजन कार्यालयले राप्तीसोनारीका लागि मिटर बक्स पर्याप्त मात्रामा नदिएको आरोप लगाएका थिए ।
भिडियो हेर्नुस् :