बाँके(बैजनाथ) : बाँकेको बैजनाथ गाउँपालिका कार्यालयले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको विभिन्न तीन वटा वडामा रहेका स्वास्थ्य चौकीका लागि आइतबार औपचारिक रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
एम्बुलेन्सको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले धार्मिक विधिपुर्वक पुजा गरेर उद्घाटन गरेका हुन् । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले दिएको जानकारी अनुसार बैजनाथको वडा नम्बर १ चिसापनी, वडा नम्बर ३ नौवस्ता र वडा नम्बर ८ टिटिहिरिया स्थित स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाले एम्बुलेन्स सञ्चालन सम्बन्धी पास गरेको कार्यविधी अनुसार गर्भवती, सुत्केरी, आर्थिक रुपले अति विपन्न स्थानीय बासिन्दा, विपन्न जेष्ठ नागरिक, रातोकार्ड प्राप्त अपांगता ब्यक्तिलाई निःशुल्क सेवा दिइनेछ । अन्य ब्यक्तिको हकमा जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिको दररेट अनुसार सेवा दिने गाउँपालिकाको योजना छ । एम्बुलेन्स सञ्चालनका लागि लाग्ने खर्चको ब्यवस्थापन तत्कालका लागि गाउँपालिकाले नै गर्ने भएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी स्थित स्वास्थ्य चौकी प्राङ्गनमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले समयमै सहज रुपमा सेवा प्रदान गर्नका लागि र बिरामीलाई समयमै अस्पतालमा उपचार गराउनका लागि गाउँपालिकामा एम्बुलेन्स सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको बताए ।
‘एम्बुलेन्सबाट बैजनाथ गाउँपालिकाभित्रका जुनसुकै कुनामा पनि सेवा दिनेछौं, बैजनाथको गाउँबाट स्वास्थ्य चौकीसम्म ल्याउने काम गर्नेछ, यहाँ नसकेमा अन्यत्र लैजान पनि सेवा दिनेछ,’ शाहीले भने ‘हाम्रो कार्यविधी बनेको छ, जो कार्यविधिमा रहेर त्यस बाहेकको सेवा उपलब्ध गराउनेछौं ।’
एम्बुलेन्स सेवा सञ्चालनमा आइसकेपछि अब कसैले पनि बाटोमा ज्यान गुमाउनु नपर्ने बताए । संविधानको मौलिक हकभित्र स्वास्थ्य सेवा पर्ने भएकाले स्थानीय सरकारले यस कामको सुरुवात गरेको उनले सुनाए ।
यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बर्थिङ सेन्टर लागु भएका स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालन भएपनि सबै वडालाई समेट्ने बताइन् । ‘हामीले गरिरहेका कामलाई यहाँहरुले सकारात्मक रुपमा लिइदिनु होला, हामीलाई यहाँहरुले पाँच वर्षसम्म सहज रुपमा काम गर्ने वातावरण बनाइदिनुपर्छ, आफ्नो प्रतिवद्धता र जनताको समस्यालाई बुझेर हामीले काम गर्नेछौं,’ उनले भनिन् ।
बैजनाथको वडा नम्बर १ चिसापानीमा आयोजित कार्यक्रममा वडाअध्यक्ष रुपबहादुर मल्ल, नेपाली कांग्रेसका नेता एवम् समाजसेवी अधिवक्ता कपिलजंग शाह, स्वास्थ्य चौकी प्रमुख लगायतको पनि उपस्थिती रहेको थियो ।
यस्तै वडा नम्बर ३ को नौवस्तावमा आयोजित हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष निखिल बैगार, स्वास्थ्य चौकी प्रमुख लगायत उपस्थित भएका थिए । यसैगरी वडा नम्बर ८ टिटिहिरियामा आयोजित कार्यक्रममा वडाअध्यक्ष भगन थारु, स्वास्थ्य चौकी प्रमुख लगायत सहभागी थिए ।