बाँके (चिसापानी) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा आइतबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले आयोजना गरेको नमुना मतदानमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ को कार्यालय प्रांगनमा गरिएको मतदानमा युवादेखी बृद्धबृद्धा सम्मले सहभागिता जनाएका थिए । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले मतदान गरेपछि अन्य सर्बसाधारणले पनि मतदानमा सहभागिता जनाएका थिए ।
नमुना मतदानमा सहभागिता जनाउँदै गाउँपालिका अध्यक्ष शाहीले मतदाता शिक्षा अति आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनमा थुप्रै मत बदर भएको उल्लेख गर्दै उनले आसन्न निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी रुपले सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
‘कसरी मतदान गर्ने ? कस्तो मत सदर हुन्छ, कस्तो म तबदर हुन्छ ? त्यसबारे आम मतदातालाई सिकाउनुपर्ने हुन्छ,’ उनले भने ‘कस्लाई मतदान गर्ने त्यो तपाईको अधिकार हो, तर एउटा मत बदर भयो भने र एउटा मतका कारण तपाईको उम्मेदवारले चुनाव हार्यो भने त्यो बेलामा पछुताउनु बाहेक अरु केही हुदैन ।’
सो क्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले मतदाता शिक्षालाई गाउँ गाउँमा पुर्याउनुपर्ने सुझाव दिइन् । त्यस क्रममा निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले मतदाता शिक्षाबारे जानकारी गराएका थिए ।
कार्यालयका नायव सुब्बा सबिता शर्माका अनुसार आसन्न निर्वाचनका लागि बाँकेका ८ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । ‘एउटा स्थानीय तहको कुनै एउटा वडामा पुगेर हामीले मतदाता शिक्षासँगै नमुना मतदान गराएका छौं,’ उनले भनिन् ।