नेपालगन्ज : नागरिक समाजका अगुवाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित नागरिक समाजको प्रतिनिधित्व गर्ने पेशागत संघ, संगठनका प्रमुख, अधिकारकर्मी, चिकित्सक, कानून व्यवसायी, सञ्चारकर्मी, युवा लगायतको सहभागिता रहेको कार्यक्रममा मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउन आचार संहिता पालना नै प्रमुख दायित्व भएकाले राजनीतिक दल, उम्मेदवार लगायतलाई आचार संहिता कार्यान्वयनका लागि सचेतसँगै दबाब दिइनुपर्नेमा जोड दिइएको छ ।
संवाद समूह बाँकेद्धारा सोमबार नेपालगन्जमा आयोजित निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।निर्वाचन आचार सहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीको विशेष उपस्थिती रहेको उक्त कार्यक्रममा चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित गाडी, व्यानर, झण्डा र स्टीकरको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले सचेततासँगै खबरदारीमा पनि जोड दिएका थिए ।
निर्वाचन आचार सहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अहम भूमिका रहने भन्दै आवश्यक सूचना दिन र असल नागरिकको जिम्मेवारी वहन गर्न पनि आब्हान गरे ।
आचार संहिता उल्लंघन गर्ने जो सुकै किन नहोस्, सचेत गराउनेदेखि कारवाहीको दायरामा ल्याउने सम्मको कार्य गर्न आफुहरु नडगमगाउने उनले स्पष्ट पारे । उच्च अदालत बार एशोसीएशन नेपालगन्जका अध्यक्ष शिवराज श्रेष्ठले आचार संहिता उल्लंघनका साना घटनातर्फ ध्यान दिन आह्वान गर्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड दिए ।
चिकित्सक संघ भेरी नेपालगन्जका सचिव डा. दिनेश चौधरीले निर्वाचन आचार संहिता पालना गर्नु साझा दायित्व भएकाले सोही अनुसारको समन्वय र सहकार्य हुनुपर्ने आवश्यक्ता औल्याए । च्याम्बर अफ कमर्स नेपालगन्जका अध्यक्ष सतिशकुमार अग्रवालले आचार संहिता उल्लंघनकर्तालाई दिइनुपर्ने सजाय सानो भएकाले पनि अटेरी गरिएको हुन सक्ने भन्दै कारबाहीको दायरा बढाउन पनि सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष झलक गैरेले सामाजिक सञ्जालमा आउने आचार संहिता उल्लंघनका सूचनाले वास्तविक मिडिया मारमा परेको भन्दै आयोगका तर्फबाट आवश्यक नियमन र सहज सूचना प्रवाहको बातावरण मिलाइदिन पनि अनुरोध गरे ।
जिल्ला बार बाँके अध्यक्ष जनकबहादुर शाहीले आचार संहिता पालना गर्नुपर्नेले नै आचार संहिता उल्लंघन गर्न उद्धत देखिएको भन्दै पालना भए नभएको नियमन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय अपाङग महासंघका प्रतिनिधी टेकराज जैसीले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यक्ता औल्याए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख एवं संवाद सदस्य उमा थापा, नेपाल पे्रस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओली, जिल्ला यूवा सञ्जाल उपाध्यक्ष मनमोहन बर्मा, उद्योगी÷व्यवसायी अगुवा ललित रौनियार, अधिकारकर्मीद्धय प्रकाश उपाध्याय, रबिन्द्र कर्ण लगायतले पैंसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, दलका प्रचार प्रसारमा बालबालिका प्रयोग, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचार संहिताको प्रभावकारी अनुगमनतर्फ अनुगमन अधिकृतको ध्यानाकर्षण गराए ।
संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषी चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा सहभागीले विभिन्न जिज्ञाशा राख्नुका साथै आवश्यक सुझाव समेत दिएका थिए । संवाद समूह बाँकेले निर्वाचन आचार संहिता पालनाका सन्दर्भमा सरोकारवालासँग बिभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।