बाँके (जानकी) : सबै धर्म, सँस्कृतीको संरक्षण र संवर्द्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित भएपछि सबै धर्म, सँस्कृतीको संरक्षण र संवर्द्धनमा जोड दिने बताए ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित जोगागाउँमा मंगलबार कात्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सहमहामन्त्री राठौंरले विधिध धर्म र सँस्कृती भएको देशमा सबैको धर्म र सँस्कृतीको सम्मान गर्ने पार्टी नै नेपाली कांग्रेस भएको बताए ।
मेला सफलताको शुभकामना दिदै नेता राठौंरले भने, ‘जानकी गाउँपालिकाले यस मेलालाई सहयोग गर्ने र प्रवद्र्धन गरेको मैले पाए, यो राम्रो कुरा हो ।’ पाँच दलिय गठबन्धनका कारण आफु बर्दिया क्षेत्र नम्बर २ छाडेर बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न आएको बताए ।
‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितीले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो ।’ आफुले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्धारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् बाँके प्रदेश सभा ३(३) का उम्मेदवार बादशाह कुर्मीले सबै समुदायको धर्म, सँस्कृती संरक्षण र संवर्द्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए । आफु निर्वाचित भएपछि जोगागाउँ मेलालाई अझ ब्यवस्थित रुपले सञ्चालन गर्न बजेट छुट्याउने बताए ।
जोगागाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नेमा उनले जोड दिए । आफु संविधान सभा सदस्य रहँदा जोगागाउँ क्षेत्रमा धार्मिक संस्था र बाटोमा बजेट हालेको स्मरण गरे । उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले मेला सञ्चालनका लागि गाउँपालिका कार्यालयले आवश्यक सहयोग गरेको बताए ।
आगामी निर्वाचनमा मतदाताले सही उम्मेदवारको पहिचान गर्नुपर्ने अध्यक्ष खाँको सुझाव छ । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क, राजनीतिक दलका प्रतिनिधी, उम्मेदवार, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।