नेपालगन्ज : कोभिड-१९ (कोरोना भाइरस) को महामारी । जुन महामारी नेपालमा मात्र होईन, विश्वभरी फैलिँदो क्रममा थियो । कोरोना भाइरस नेपालमा समुदायसम्मै पुग्यो । अस्पतालमा कोरोना संक्रमितले आइसीयु बेड, अक्सिजन र भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका थिए । संक्रमितको संख्या दैनिक उकालो लाग्दो थियो ।
भारतसँग सीमा जोडिएको बाँके पनि कोरोना भाइरसको उच्च जोखिममा थियो । बाँकेको नरैनापुर त झन कोरोना भाइरसको ‘हट स्पट’ नै बन्यो । जतिबेला मानिसहरु घरबाट बाहिर निस्कन बन्दाबन्दी (लकडाउन) लगाइएको थियो । एक व्यक्ति अर्कोसँग भेट्नै डराउँथे । कोरोना संक्रमितको व्यवस्थापनमा ठूलो चुनौती थियो । त्यतिबेला नरैनापुरका संक्रमितलाई औषधि उपचारसँगै क्वारिन्टाइनको व्यवस्थापन गर्नुपर्ने ।
यस्तो अवस्थामा जनतालाई साथ दिन स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरे । जनतालाई रोगले सताइरहेका बेला सहयोग गर्नुको साटो नेताहरु घर बाहिर निस्केनन् । जब कि, व्यवस्थापनको भूमिका नेतृत्वले सावधानीपूर्वक गर्न सक्थ्यो । तर, कोरोनाको राताम्मे उचाइका अगाडी नेताहरु डराए ।
यी भीडमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं सह-इञ्चार्ज कृष्णा केसी नमुना ले सहास र हिम्मत गरिन् । ज्यानै धरापमा राखेर कोरोना छिचोल्दै जनताको सुरक्षाका लागि तल्लीन भइन् । उनलाई त्यतिबेला घरपरिवार र समाजले जोखिम नमोल्न दबाब दिए ।
तर, उनले जनतालाई बचाउन आफ्नो ज्यान जोखिममा राखेर क्वारेन्टाइन व्यवस्थापन, कोरोना भाइरस संक्रमितको व्यवस्थापनमा भूमिका निर्वाह गरिन । जतिबेला राजनीतिक दलहरू सत्ताकै गठजोडमा व्यस्त थिए । यस्तो बेला विभिन्न व्यक्ति, संघसंस्थाहरू भने बिरामी र अस्पतालका सारथि बनेर अगाडि देखिएनन् ।
‘यस क्षेत्रका बासिन्दाको जीवन रक्षा र सुरक्षाका लागि मैले सहयोग गरेको हुँ,’ उनले भनिन्, ‘यो सहयोग मात्र होइन, मेरो कर्तव्य र जिम्मेवारी पनि हो ।’ आफ्नो प्रयासपछि धेरै नागरिकको ज्यान जोगिएको भन्दै उनले खुसी व्यक्त गरिन् । स्वास्थ्यकर्मीबाहेक अरु कसैले वास्ता नगरेपछि कोरोना भाइरस न्यूनिकरण र यहाँका नागरिकलाई सुरक्षित बनाउन आफूले हातेमालो गरेको उनले बताइन् । ‘सहयोग सेवा वा धर्म मात्र होइन, नागरिक दायित्व पनि हो ।
मान्छेलाई पर्दा मान्छेले साथ दिने हो,’ उनले भनिन् । उनले जुन क्रियाशीलताले बिरामीको ज्यान मात्रै बचेन स्वास्थ्यकर्मीको हौसलासमेत बढेको थियो । ‘बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने खतरा त टर्यो,’ नरैनापुरका स्थानीय ईस्लाम खाँले भने, ‘योसँगै जनतालाई पर्दा कसले सहयोग गर्दो रहेछ भनेर पनि चिनियो ।’ ‘नमुना जोखिम मोलेर बाहिर ननिस्केको भयो नरैनापुरले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था हुन्थ्यो,’ उनले भने, ‘हामीले सही मान्छेलाई २०७४ सालको चुनावमा छनोट गरेका रहेछौंँ ।’
नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई आफ्नो जिल्लामा सुरक्षित पुर्याउन, नाकामै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायतमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । पहिलो लकडाउनका बेला चैत ११ गते नमुनाले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखिन, ‘जिल्ला प्रशासन कार्यालय मार्फत म व्यक्तिगत रुपमा कोरोना भाइरस न्यूनिकरणका लागि सहयोग गर्छु ।’

त्यतिबेला उनको उक्त स्टाटसमा कमेन्ट यति आएकी उनलाई पूरै पढ्न पनि हम्मेहम्मे भयो । कतिले फोन गरे । त्यतिबेला धेरैले उनको उक्त कार्यको लागि प्रशंसा गरे र यसमा आफूले पनि सहयोग गर्ने वचन दिए । यो सम्भवतः पहिलो थियो ।
नेपालमा यसरी व्यक्तिगत सहयोग गर्न कसैले सुरुवात गरेका थिएनन् । त्यसैले पनि सबैले कार्यलाई सहयोग गरे । धेरैजनाले सहयोग गर्ने वचन दिएपछि नमुनाले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिन् ।त्यतिबेला प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहयोग संकलन गर्ने र वितरण गर्ने सोचमा थिइन् उनी । तर प्रमुख जिल्ला अधिकारीले सर्वदलीय बैठक बसेर आफैँ नेतृत्व गर्न सुझाव दिए ।
सबै दल तथा पालिका प्रमुख र उपप्रमुख सहितको बैठक बसालिन र उनीहरुले नमुनाकै संयोजकत्वमा समिति बनाए । त्यतिबेला ५० हजारबाट सुरु भएको अभियान करिव १२ लाख रुपैयाँसम्म पुगेको थियो । बैंकिङ प्रणालीमार्फत पारदर्शी रुपले उक्त रकम वितरण गरियो । जसले विपदमा ठूलो राहत पुग्यो ।