नेपालगन्ज : जनता समाजवादी पार्टी(जसपा) नेपालबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा बुधबार राईले पत्रकारमाझ साक्षात्कार गर्दै सार्वजनिक गरेका हुन् । बाँके क्षेत्र नम्बर २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजना समेटेका छन् ।
विभिन्न दश बुँदामा समेटिएका उनको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन् । आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको उनले बताए ।
उनले भने, ‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं, काम गरिरहेको र गर्नसक्नेव्यक्तिलाई भोट दिनुस् भनेका छौं ।’ मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उनले बताए ।
पत्रकारमाझ उनले भने, ‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनु भएको छ, उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनु भएको छ, कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन्, मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस्, म सजया भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु ।’
सो क्रममा प्रदेश सभा-२ (१) का उम्मेदवार भण्डारीलाल यादव र प्रदेश सभा-२ (२) का उम्मेदवार आदेशकुमार अग्रवाल, जसपाकी लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार अम्बिका काफ्ले लगायत पनि उपस्थित भएका थिए ।
भिडियो हेर्नुस् :