बाँके (नरैनापुर) : बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले आगामी पाँच वर्षमा नरैनापुरको मुहार फेर्ने प्रतिवद्धता जनाएका छन् ।
गठबन्धनका तर्फबाट शनिबार नरैनापुर गाउँपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा तर्फका साझा उम्मेदवार महेश्वरजंग गहतराज अथक र बाँके प्रदेश सभा-१ (१) का उम्मेदवार कृष्णा केसी नमुनाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सभामा बोल्दै माओवादी स्थायी समितिका सदस्य एवम् युवा तथा खेलकुद मन्त्री समेत रहेका उम्मेदवार गहतराजले विगत पाँच वर्षमा विकासको जग खोलिएको भन्दै आगामी पाँच बर्षमा मुहार फेरिने बताए ।
विगतको दुर्गम नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदी नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधार निर्माण गरिएको भन्दै अब कृषि, पर्यटन, रोजगारमा जोड दिईने बताए । नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापी तथा मालपोतका शाखा कार्यालय स्थापनामा पनि जोड दिईने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार नमुनाले विगतको कामको आधारमा आफुहरुले पुनः मत माग्ने अधिकार रहेको भन्दै पुनः अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरिन् । आफुहरुको आगामी कार्यकाल विकासको बर्ष हुने दाबी गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । बिकट बघौडाको विकासका लागी क्रियाशिल अथक र नमुनालाई मत दिएर विजयी गराउन आग्रह गरे । उनले संविधानको रक्षा र विकासका लागि गठबन्धन गरिएको भन्दै दायाँ/बाँया नगरी मतदान गर्न समेत आग्रह गरे ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, नेता हुर्मत न्यौपानले देशभर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काँग्रेसलाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ र प्रदेश सभा १ (१) मा कुनै संकोच नमानेर गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अग्रह गरे ।
चुनावी सभामा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पुर्णाकुमारी सुवेदी, नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दायाँ/बायाँ गर्ने छुट कसैलाई नभएको बताए ।
आगामी सरकार गठबन्धनको बन्ने र यसले विकास र समृद्धिको नेतृत्व गर्ने बताए । उक्त सभामा नेपाली काँग्रेसका नेता रामचन्द्र मौर्य, राजकुमार मौर्य, नेकपा (एकिकृत समाजवादी) का समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धनलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने बताए ।