कोहलपुर : बाँके, क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नम्बर १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिइएको हो ।
विकासको एजेन्डा लिएर मतदाताको घर, आँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज अथक र प्रदेश सभा १ (२) का उम्मेदवार फुलाराम थारू कोहलपुरका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भए ।
उम्मेदवार अथकले आफुहरूको चुनावी अभियानमा स्थानीयले खुलेरै समर्थन जनाइरहेको बताए । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नम्बर १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएको बताए ।
आफुले विगतमा गरेका कामको मुल्यांकन गर्ने समय आएको बताउँदै अथकले एक पटक पुनः काम गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताए । घरदैलो अभियानकै क्रममा आईतबार कोहलपुरका विभिन्न वडामा पुगेका गठबन्धनका उम्मेदवारलाई स्थानियले जितको अग्रिम शुभकामना समेत दिएका थिए ।
आईतबार एका बिहानै बृहत घरदैलो गर्न कोहलपुर १२ चप्परगौडी पुगेका उम्मेदवारद्धय अथक र फुलारामलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए । चप्परगौडीका स्थानिय विवेक अधिकारीले जितेर गएपछि सबैको समस्या समाधान गर्दै देश विकासमा लाग्न उम्मेदवारलाई सुझाव दिएका थिए ।
स्थानियसँगको भेटमा मन्त्री अथकले खड्गवार-ढकेरी हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तर प्रदेशिय सडकको कामलाई तिब्रता दिने र समृद्ध कोहलपुर नगरपालिका बनाउने प्रतिबद्धता जनाएका थिए ।
यस्तै प्रदेशका उम्मेदवार फुलाराम थारूले जनताको काम गर्ने प्रतिबद्ध रहेको जनाउँदै सबैले मत हालेर जिताउन आग्रह गरेका थिए । गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ को प्रतिनिधी सभातर्फ अथकसँगै प्रदेश सभा १ (१) मा कृष्णा केसी नमुना र प्रदेश सभा १ (२)मा फुलाराम थारु चुनावी मैदानमा होमिएका छन् ।