शुक्रऋषि चौलागाई
किशोरसिंह राठौर, नाम नै काफी छ । राजनीतिमा उनको थप परिचय गराइरहनु पर्ने हैन तथापि उनका बारेमा गरिने सतही मूल्यांकन (बतासे अनुमान) ले भने कहिलेकाहीँ दिग्भ्रमित गर्ने अवस्था सिर्जना गरिरहेको देखिन्छ । मानवीय कमजोरी या स्वभावजन्य गल्तीहरु कसमा हुन्न र । तर,तिनै बोली, व्यहारलाई हेरेर समग्र मूल्यांकन गरिदिनु, बुझिदिनु पनि अन्याय हुन जान्छ ।
हरेक व्यक्ति फरक हुन्छ । धेरैले धेरै कुराहरु मनभित्रै राख्छन्, सित्तिमित्ति ओकल्दैनन् । त्यसमाथि सार्वजनिक व्यक्तिले धेरै कुराहरु सहनुपर्छ भन्ने सोच पनि छ तथापि कतिपय यस्ता पनि हुन्छन्–जसले मनमा लागेको कुरा फ्याट्ट भन्दिछन् । ठाडै मुखमै बोल्दिने गर्छन् ।
त्यसै मध्येका एक हुन्-किशोरसिंह राठौर । मन नपरेको कुरा ठाडै भन्दिने । बनावटी कुरा गर्न पनि नजान्ने । औषधि खाँदा तितो नै लाग्छ, तथापि त्यसको फाइदा त यहाँ भनिरहनु नपर्ला । ठ्याक्कै किशोरसिहं राठौरका कुरा पनि झ्वाट्ट सुन्दा त्यस्तै लाग्छन् तर विस्तारै बुझदै जाँदा, अवलम्वन गर्दै जाँदा औषधि सरह लाग्छन् । हो, तिनै किशोरसिंह राठौर यतिबेला चुनावी मैदानमा छन् ।
नेपाली काँग्रेसका सहमहामन्त्री राठौर अहिले बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । बाँके र बर्दियालाई केन्द्रविन्दुमा राखेर पार्टी राजनीति गरिरहेका उनी यसपटक बाँके क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार हुन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसबाट एक मात्र पदाधिकारी राठौर प्रत्यक्षतर्फ संसदको यात्रा तय गर्ने क्रममा छन् । नेपालगञ्ज घर भएका राठौर पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाले नेपालगञ्जबाट चुनाव लडिरहकाले बर्दियाको राजापुर क्षेत्रलाई चुनावी क्षेत्र बनाएर राजनीति गरिरहेका थिए । तर,यसपटक गठबन्धनमा बर्दिया-२ माओवादीलाई परेपछि उनी क्षेत्र बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । नेता राठौरको टिकट निश्चित भएपछि बाँकेमा एक खालको खैलाबैला भयो ।
आफ्नै पार्टीका आँकाक्षीहरुबीच पनि एक प्रकारको अन्यौलता र निराशा जस्तो देखियो । तर,सहमहामन्त्री राठौरको केही दिनको नेपालगञ्ज बसाई, भेटघाट र सक्रियतापछि त्यो निराशा आशा र भरोशामा परिणत हुँदै गयो । स्थानीय क्षेत्रकै नेतालाई टिकट नदिएर पार्टीले ठीक गरेन कि? भन्ने झिनो मत विस्तारै मत्थर हुँदै मात्र गएन, ती सवै आंकाक्षीहरु अहिले काँधमा काँध थापेर प्रचार-प्रसारमा डटेका देखिन्छन् ।
यसअघि यस्तो खालको नेताहरुबीचको एकता र सहकार्य नदेखेका कांगे्रस कार्यकताहरु भन्छन्,‘यसपाली अभूतपुर्व एकता देखिएको छ, यो नै हाम्रो जीत हो ।’ खरो स्वभावका राठौरको संगठन निर्माण, नेता/कार्यकता परिचालन र आवश्यक निर्देशनले समेत माहोल काँगे्रसको पक्षमा जाँदैछ । सुशिल दाईको निधन पछि टुहुरा सरह भएको महसुस गरिरहेका काँग्रेसीहरुले यतिबेला अभिभावकत्व पाएको महसुस गर्दैछन् ।
क्षेत्र नम्बर ३ बाट चुनावमा होमिइरहँदा उनीमाथि एउटा सवाल पनि उठाइयो–टुरिष्ट नेता । बर्दिया छाडेर बाँके आए तर त्यो सत्य हैन । उनकै भनाई जस्ताको तस्तै,‘सुशिल दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले वर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ ।
सदरमुकामसँग, मुलुकसँग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पुल बनेको छ । त्यहाँको बाटो, सिंचाई र तटवन्ध लगायत जति विकास भएको छ । त्यो मेरै नेतृत्व र पहलमा भएको हो । तर,यसपाली गठवन्धनका कारण मैले राजापुर क्षेत्र छाड्नु परेको हो ।’
यहाँ बुझ्नुपर्ने कुरा यो छ कि, उनले चाहेको भए राजापुर क्षेत्रमै अडिग रहन सक्थे तर पार्टीको निर्णयलाई नै सर्वोपरी ठान्ने हुनाले उनले बाँके क्षेत्र नम्बर ३ सहर्ष स्वीकारे । नेपालगञ्ज फुल्टेक्राका स्थानीयवासी किशोरको परिवार ६० वर्ष पहिले नै नेपालगञ्जमा आएको हो । नेपाली नागरिक जोसुकै किन नहोस् जहाँबाट पनि उठ्न पाउने संवैधानिक अधिकार छ ।
बाँके-वर्दियालाई आफ्नो राजनीतिक क्षेत्र बनाएका उनले पार्टीको संगठन सुदृढीकरण र विकासमै केन्द्रीत गरेका छन् । झुठो कुरा पटक्कै नरुचाउने उनी जे गर्न सक्ने हो त्यही मात्रै बोल्छन् । ठूल्ठूला विकास निर्माण र योजनाका भाषण पनि गर्दैनन् । मीठा आश्वासन दिन पनि जान्दैनन् ।
जनताको वास्तविक माग के हो, त्यो सुनेर, बुझेर मात्रै बोल्छन् । ‘नेताले गर्न सक्ने काम गर्छौं भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो, उनको सुझावयुक्त भनाई पनि छ । अहिले सो क्षेत्रमा नियमित घर दैलो, कोण सभा भइरहेका छन् । उनका आफ्ना छुट्टै योजना छैनन्, जनताकै एजेण्डा नै उनका मुख्य एजेण्डा हुन् ।
बाँके क्षेत्र नम्बर ३ नेपालगञ्जको काखमा रहेर पनि पछाडि परेको र विकासको मूल प्रवाहमा आउन नसकेको क्षेत्रका रुपमा रहेको उनको बुझाई छ । सो क्षेत्र दलित, अल्पसंख्यक आदिवासी, मधेशी, मुस्लिम लगायत मिश्रित समुदाय बसोबास क्षेत्र हो ।
१० वर्षदेखि एमालेले जितेको क्षेत्र नम्बर ३ को अपेक्षाकृत विकास हुन नसकेको उनको बुझाई छ । तथापि अब आफूले जितेमा सो क्षेत्रको समग्र विकास गर्ने संकल्प गरेका छन् । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उनको योजना छ । कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रको विकास पनि जरुरी देख्छन्,उनी ।
केन्द्रसँग सोझै पहुँच राख्ने नेता राठौरले भौतिक पूर्वाधारको विकास गर्ने र आफ्नै क्षेत्रमा बस्न सक्ने वातावरण बनाउने बताएका छन् । नेपालगञ्ज र कोहलपुरमा घर बनाएर त्यहाँ बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उनको पवित्र सोच छ । उनकै पहलमा धम्वोझीदेखि राजापुरसम्म फोरलेन सडकको विस्तार हुँदैछ । परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने, बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने पनि उनको प्रतिवद्धता छ ।
खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने, मानखोलामा तटवन्ध गर्ने लगायतका योजना पनि तय गरिएका छन् । कृषिको सम्भाव्य क्षेत्र भएपनि गति पाउन नसकेकोमा उनी चिन्तित छन् । सिक्टा सिंचाईको विस्तार गर्ने पनि उनको तयारी छ । निर्वाहमुखी खेतीलाई व्यवसायिकतासँग जोड्नु आवश्यक देख्छन्, उनी । सुकुम्वासी समस्या समाधानको दीर्घकालीन पहल गर्ने उनको महत्वपूर्ण योजना छ ।
केन्द्रीय नेता पाउँदा आममतदाता उत्साही भइरहेका छन् तथापि नेकपा माओवादी भित्रको विवाद (उम्मेदवार) ले नतिजामा असर पार्ने हो कि भन्ने झिनो आशंकायुक्त चिन्ता पनि छ । तर, राठौर भन्छन्–‘हामीलाई असर नगरोस् भनेर हामी सबै सचेत छौं । त्यो उहाँहरुको आन्तरिक द्वन्द हो, त्यसलाई मिलाउनुस् भनेका छौं ।’गतिलो नेता नपाएको यो क्षेत्रमा अब आफूले त्यो परिपूीर्त गर्ने बताउँछन् ।
आम जनताको जुन उत्साह, भरोसा र विश्वास छ, त्यसलाई कुनै पनि हालतमा मर्न नदिने उनको दृढ संकल्प छ । क्षेत्र नम्बर ३ का जनताले फगत सांसद मात्रै हुनेलाई रोज्लान् कि सम्भावना बोकेको केन्द्रीय नेतालाई रोज्लान्, यो सहजै अनुमान गर्न सकिन्छ । स्थानीय चुनावको अंकगणितलाई नियाल्दा पनि राठौरको जीत निश्चित छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, स्थिर सरकार र समृद्धिका लागि पनि काँगे्रसलाई जिताउनु बाहेकको विकल्प नरहेको उनको भनाई छ ।
यस कारण जित्दैछन्-राठौर
- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतसँगको संयुक्त गठवन्धन हुनु र मतदाता संख्या नै धेरै हुनु ।
- काँग्रेसको केन्द्रीय नेता र केन्द्रमा पहुँच भएको शक्तिशाली व्यक्तित्व हुनु ।
- यसअघि निर्वाचित अन्य पार्टीका सांसदले काम गरेर देखाउन नसक्नु ।
- काँग्रेसभित्रको सांगठनिक एकता र कार्यकर्ता उत्साही देखिनु र सशक्त प्रचारप्रसार हुनु ।
- सरकारको नेतृत्व फेरि पनि काँगे्रसले नै गर्ने प्रवल सम्भावना रमन्त्री पाउने सम्भावना ।
- विकास निर्माणका लागि केही गर्न सक्छन् भन्ने मतदातामा विश्वास जागृत हुनु ।
- प्रतिष्पर्धीहरु हतोत्साही र कमजोर देखिनु ।
- थारु, मुस्लिम, मधेशी, दलित मत पनि एक ढिक्का भएर रुखमा मत हाल्ने बातावरण बन्नु ।
को हन् किशोर ?
२०२६ वैशाख १५ गते सल्यान बडागाउँमा जन्मिएका किशोर २०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएका हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाउँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । हक्की स्वभावले सबै माझ परिचित राठौर त्रिचन्द्र क्यापसको स्ववियु सचिव हुँदै सभापति समेत बन्न सफल भए ।
नेविसंघको सहमहामन्त्री हुँदै केन्द्रीय अध्यक्षको सशक्त भूमिका निर्वाह गरिसकेका छन् । राठौर नेविसंघको नेतृत्व तहमा मात्र मात्र पुगेनन्, विद्यार्थी र यूवाहरुको ढुकढुकी बन्न सफल भए । विद्यार्थी राजनीतिकालीन समयमा विद्यार्थीहरुको आशा, भरोसा र विश्वासका धरोहर राठोर कहिल्यै थाकेनन् बरु झनै शाक्तिशाली बन्दै गए ।
राजनीतिक आन्दोलनका क्रममा पटक पटक पक्राउ परेका राठौर संगठन निर्माण, नेता, कार्यकर्ता परिचालन गर्न खप्पीस मानिन्छन् । राजापुर क्षेत्रलाई केन्द्र विन्दु मानेर राजनीति गरिरहँदा उनले त्यहाँ पार्टीको संगठन निर्माण मात्र गरेका थिएनन्-सडक, पुल, सिंचाई, तटवन्धन लगायतका मुद्दा उठान र सम्वोधनको बातावरण बनाएका थिए ।
समानुपातिक सांसद रहिसकेका राठौर बाँके र बर्दियाका अभिभावक पनि हुन् । मेहनत, लगन, निरन्तरता र निष्ठाले उनको उचाई अझैं बढदै गएको छ । यही गतिमा बढ्ने हो भने उनलाई राजनीतिको शिखर व्यक्तित्व हुनबाट कसैले छेक्न सक्ने छैन भन्दा अतिशयोक्ति नहोला ।