नेपालगन्ज : बम बिस्फोटबाट घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लप’ समुहका दुई जना कार्यकर्ताको प्रहरीको निगरानीमा उपचार भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित स्वास्थ्य कार्यालय नजिक एक घरमा बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिस्फोट भएको थियो ।
बिस्फोटमा परेर सल्यान बागचौर नगरपालिका वडा नम्बर २ निवासी 'विप्लव' समुह निकट विद्यार्थी संगठनका बाँके अध्यक्ष डिल्लीबहादुर डि.सी (क्षेत्री) र सोही संगठनमा आवद्ध कैलाली घोडाघोडी-१ निवासी धर्मराज सुनार घाइते भएका थिए ।
उनीहरु दुबै जनालाई भेरी अस्पताल नेपालगन्जमा लगेर प्रारम्भिक उपचार गरिएकोमा बुधबार राती नै थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको र अहिले पनि उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
‘दुबै जनाको अवस्था गम्भिर छ, दुबै जनालाई आईसियुमा राखेर उपचार भइरहेको छ,’ डिएसपी घर्तीले भने ‘प्रहरीले उनीहरुलाई अस्पतालमा विशेष निगरानीमा राखेको छ ।’
घटनास्थल रहेको घरको कोठाभित्र प्रेसर कुकरका टुक्रा, बिस्फोटक पद्धार्थ, परिचय पत्र, कागजात, रसिद, पर्चा, पम्प्लेट लगायत पनि फेला परेको प्रहरीले जनाएको छ । ‘कोठाभित्र फेला परेका दस्तावेजका आधारमा उनीहरु 'विप्लव' समुहका कार्यकार्य भएको पुष्टी भइसकेको छ,’ प्रवक्ता घर्तीले भने ।
बिस्फोट पश्चात घरभित्र फेला परेका थप दुई वटा प्रेसर कुकर बमलाई नेपाली सेनाले बुधबार राती डिस्पोज (निष्कृय) गरेको थियो । स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र थप दुई वटा प्रेसर कुकर बम भेटिएपछि नेपालगन्जको राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेना आएर बुधबार राती साढे १० बजेतिर एउटा र राती ११ बजेतिर अर्को बमलाई सुरक्षित रुपले डिस्पोज गरेका थिए । करिव २ सय मिटर टाढा खेतमा लगेर सेनाले बम डिस्पोज गरेको थियो ।
बम बिस्फोट भए लगत्तै उक्त घरबाट निस्केर अन्य ३ जना ब्यक्ति मोटरसाईकल चलाएर भागेको कुरा प्रत्यक्षदर्शीले बताएपनि प्रहरीले एकिन गरेको छैन । ‘घटनाको अनुसन्धान सुरु गरेका छौं, घटनामा संलग्न ब्यक्तिहरु घाइते भएको हुँदा उनीहरसँग विस्तृत कुरा लिन सकिएको छैन, सामान्य सोधपुछ मात्रै गरेका छौं, विस्तृत अनुसन्धानबाट पछि खुल्नेछ,’ घर्तीले भने ।
उक्त घरमा विप्लपका कार्यकर्ता करिव एक वर्षदेखी डेरा गरेर बस्दै आएपनि मल्ल परिवारले उनीहरु कलेज पढ्ने बिद्यार्थी भएको कुरा मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन् । निर्वाचनको मुखमा भएको उक्त घटनापछि नेपालगन्ज उपमहानगर क्षेत्रमा त्रास फैलिएको छ ।
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बम बिस्फोट गराउने योजना 'विप्लप' समुहले गरेको उक्त घटनाले पुष्टी गरेको छ ।
यो पनि पढ्नुस् :
बिस्फोट भएको घरभित्र फेला परेका थप दुई वटा बम डिस्पोज गरियो
बम बनाउने क्रममा नेपालगन्जमा बिस्फोट, विप्लपका दुई कार्यकर्ता घाइते