नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री सुरेन्द्र हमालको परिचयमा राजनीति र खेल (भारोत्तोलनका ओलम्पियन) सँगै जोडिएर आउँछ । २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी यसपटक पनि प्रदेशसभा सदस्यमै दोहोरिनका लागि मतदाताहरुसँग मत माग्दै हिँडेका छन् ।
प्रदेशसभा सदस्यको कार्यकालको करिब अन्तिम तिर २०७८ असोज २४ गते लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भू-संरक्षण मन्त्री नियुक्त भएका उनले एक वर्षको अवधिमा मन्त्रालयमा रहेर गरेका कामहरुको फेहरिस्त लामै छ । उनी मन्त्री हुँदा मन्त्रालय ऐन विहीन चलिरहेको थियो ।
सबैभन्दा पहिले उनले ऐन पारित गर्ने प्रक्रिया अघि बढाए । वन मन्त्रालय सँग आफ्नै ऐन प्राप्त भयो । कुनै काम गर्नु पर्दा संघीय ऐन-कानुनहरु पल्टाउनुपर्ने अवस्थाको अन्त्य भयो । ऐनबनेसँगै उनले ऐन मुताबिकको नियमावली र तीनवटा कार्य विधिहरु तर्जुमा गराए ।
कपिलवस्तु जिल्लाको विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदिशपुरा ताललाई उनले ‘बर्ड सेन्चुरी’ घोषणा गरे, जुन नेपालको पहिलो वैधानिक ‘बर्ड सेन्चुरी’हो । यसैगरी रुकुम, रोल्पा र प्युठान जिल्लामा ओखर आयोजना सञ्चालन गराए भने जडिबुटीको संभाव्यता अध्ययनको काम पनि सुरु गराए । रुकुम, रोल्पा लगायतका जिल्लामा अल्लो, टिमुर लगायतका जडिबुटी खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम तर्जुमा गरियो ।
उनले नीति तथा कार्यक्रममै ‘एक वडा एक पोखरी’ कार्यक्रम समावेश गराएका छन्, जुन कार्यक्रम अब कार्यान्वयनमा जाँदैछ । यसैगरी कार्यान्वयनमा जान लागेका ‘एक गाउँपालिका एक नर्सरी, सडक किनार वृक्षरोपण’ जस्ता कार्यक्रमहरु पनि छन् । प्रदेशका १४ वटा वन कार्यालयमा खुला जिमको कार्यक्रम पनि उनले बजेटमा समावेश गराएका छन् ।
यसैगरी कम खर्चिलो भू-संरक्षण कार्यक्रम, नेपालमै पहिलो पटक ठूलो रुखलाई जस्ताको तस्तै उखेलेर अर्काे ठाउँमा स्थानान्तरण गर्ने मेसिन खरिद गरेर हरियाली संंरक्षण सुनिश्चित गर्न पनि उनको प्रयास रहेको छ ।उनको कार्यकालमा तीनवटा भू-संरक्षण कार्यालयहरु थप हुनुका साथै उनले वन क्षेत्र गोडमेलको कार्यक्रम पनि सञ्चालन गराए ।
करिब ७ हजार हेक्टर वनक्षेत्र शून्य बजेट खर्चमा गोडमेल गरिएको छ । यसका साथै अनुगमन तथा संस्थागत सुधारका लागि पर्याप्त काम गरिएको हमाल बताउँछन् । ‘म जाँदा वन मन्त्रालय चलायमान नै हुन सकेको थिएन । ऐन, कानुन र कार्यविधिहरु बनिसकेपछि बल्ल मन्त्रालयका कामहरु कार्यान्वयनमा जाँदैछन्, हमालले भने ।
बाँके र आफ्नो निर्वाचन क्षेत्रमा पनि उनले योजनाहरु ल्याए । सांसद विकास कोषबाट निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्ज उपहानगरपालिकाको १४ वटै वडामा सडक निर्माण, वडा १४ र १५ मा डिप बोरिङ, वडा१२ बेलासपुरमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गराए । यसका साथै नाली तथा धार्मिक स्थल निर्माण तथा मर्मत सम्भार पनि गराइएको उनले बताए ।
वडा २ स्थित बुद्ध गुम्बा नजिक पार्कमा टिनको छाना लगाइएको र नेरा प्राविमा १५ लाख बजेटमा विद्यालय भवन निर्माण गरिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा वन क्षेत्र कम भएकोले पनि मन्त्रालय अन्तर्गतका कार्यक्रम कम देखिएको उनको जिकिर छ ।
उनकै पहलमा चालु आर्थिक वर्षमा नेपालगञ्ज नगर क्षेत्रमा ८ वटा हाइमास्ट लाइट जडान हुँदैछन् भने धम्बोझी चोकमा ट्राफिक लाइट जडान, किरियापुत्री भवन निर्माणका लागि पनि बजेट व्यवस्था गरिसकेको उनले बताए । यस अतिरिक्त खजुुरामा प्राविधिक विश्व विद्यालय स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेका उनले जिल्लाका अन्य मन्त्रालयसँग सम्बन्धित योजना तथा कार्यक्रम सञ्चालनका लागि पहल गरे ।
यसपालि जनताले फेरि विश्वास गरेमा प्रदेश सभा सांसदका हैसियतले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई, पर्यटन, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, आर्थिक विकास तथा सडक एवं पछाडि पारिएका समुदायको अधिकारका लागि आवाज उठाउने र मन्त्री हुने अवसर पाएमा प्रभावकारी ठोस योजना सञ्चालन गर्ने संकल्प लिएको उनी बताउँछन् ।