नेपालगन्ज: तत्कालिन नेकपा माओबादीको द्धन्द्धका क्रममा चर्चित नाम हो, ‘अथक’ । माओवादीको १० वर्षे जनयुद्धका क्रममा उनी कुनैपनि विवादमा मुछिएनन् । बरु अथकले भुमिगत कालमा बाँके र बर्दियामा गरेका रचनात्मक कामको अहिले पनि स्मरण गरिन्छ ।
राजनीतिमा विभिन्न आरोह-अवरोह पार गरेका अथक अहिले पुनः बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को उम्मेदवार बनेका छन् । ‘मैले पार्टीमा गरेको योगदान र जनताका लागि गरेको कामको मुल्यांकन स्वरुप नै मलाई पुनः प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाइएको हो,’ उनी भन्छन् ।
२०२८ सालमा रुकुममा जन्मिएका हुन्, ‘अथक’ । हाल उनी बाँकेका स्थायी बासिन्दा भएका छन् । आमा रति विश्वकर्मा र बुबाको सुकीराम विश्वकर्माको कोखबाट जन्मिएका उनको भित्री कथा भिन्न छ । शैक्षिक योग्यताका हिसाबले आइ.ए. सम्मको अध्ययन गरेका उनले २०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता लिएका थिए ।
अतिविपन्न परिवारमा जन्मिएका उनले उमेरमा पढ्नै पाएनन् । गरिबी र विपन्नताका कारण झण्डै १२ वर्षको उमेरमा मात्र उनी बिद्यालय भर्ना भएका थिए । ‘प्रारम्भिक राजनीतिक चेतना २०४३ सालको तत्कालिन पञ्चायती आमनिर्वाचन र त्यसका विरुद्ध उठेका आवाज हरुबाट भएको थियो,’ उनी भन्छन् ‘दलित समुदायमा भइरहेको अमानवीय व्यवहार शोसन, दमन, उत्पीडनका कारण त्यसबेला स्थानीय सामन्ती राजा, रजौटा र पञ्चायतका विरुद्ध तीब्र घृणा विकास भयो ।’
२०४५ सालमा बीरेन्द्र मावि बाँफिकोट रुकुमको अनेरास्ववियू इकाई सचिवमा उनी चुनिएँ । त्यसपछि बिद्यार्थी राजनीतिमा लाग्ने नसाले उनलाई छोयो । २०४६ सालमा जिल्ला समिति रुकुमको कोषाध्यक्ष हुँदै सोही वर्ष चितवनमा सम्पन्न राष्ट्रिय भेलामा प्रतिनिधि भए ।
‘२०४६ सालमा पञ्चायत विरोधी भावना बढ्दै जनआन्दोलनका रुप लिंदै जाँदा बाँफिकोट भेगमा नेकपा मशालको संघर्षका गतिविधि सञ्चालन गर्न लोकेन्द्र बिष्ट मेरै घरमा बसेर पार्टी र आन्दोलनको बारेमा महत्वपूर्ण मार्ग निर्देशन गर्नुभयो,’ अथक भन्छन् ‘हामीलाई पार्टीका संघर्षका कार्यक्रमहरु पर्चा छर्ने, पोष्टर टाँग्ने, वालिङ गर्ने, मसाल जुलुस गर्ने जस्ता क्रियाकलापमा सरिक गराउनु भयो ।’
२०४७ मा तत्कालिन नेकपा मशालको एसीएम, अनेरास्ववियुको जिल्ला सचिव र राप्ती अञ्चल समन्वय समितिको सचिव समेतको जिम्मेवारी पाए । उनले डोल्पा र जाजरकोट समेतमा संगठन विस्तारको जिम्मा पाएका थिए । तत्कालिन अखिल नेपाल युवक संघको जिल्ला सदस्यमा मनोनित पनि भए, उनी ।
२०५० मा हेटौडा राष्ट्रिय भेलाबाट अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्यमा निर्वाचित भएका अथक सोही वर्ष नेपाल उत्पीडित दलित मुक्ति समाजको बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भए ।
रुकुम सल्यान र कर्णाली अञ्चलनको संगठानिक जिम्मा लिएर काम गरे । २०५१ मा नेकपा माओवादी रुकुमको जिल्ला भेलाबाट जिल्ला समिति सदस्यमा निर्वाचित भए । ‘जनयुद्ध तयारीको अन्तिम प्रशिक्षण प्रचण्डबाट रोल्पामा सम्पन्न भएपछि दिमागमा पुरै जनयुद्ध राखेर तयारीमा लागियो,’ उनी सम्झन्छन् ‘पार्टीले अन्तिम तयारी र थालनीको मिति समेत तय गरिसकेपछि प्रतिनिधिमूलक एक कारवाही रुकुममा गर्ने निर्देशन केन्द्रले गर्यो, पश्चिम कमाण्ड इन्चार्ज बादलको उपस्थितिमा बसेको जिल्ला समिति बैठकले कारवाहीको लागि मेरै कार्य क्षेत्रको आठविसकोट, राडीजिउँला प्रहरी चौकीलाई टार्जेट गरी सर्वे गर्ने निर्णय गर्यो ।’
उक्त कारबाहीका लागि तोकिएका चार मध्येका एक जना कमाण्डर थिए, अथक । उनी सम्झन्छन्, ‘त्यो मेरो जीवनको असाध्यै विशिष्ट महत्व र गौरवको क्षण बन्यो, यो मेरो अविष्मरणीय क्षण र गौरवमय परिघटना हो, जसले मलाई बाँच्न सिकाएको छ ।’ २०५७ मा रुकुमलाई माओबादीले देशको पहिलो जिल्ला जनसरकार घोषणा गर्दा अथक त्यहाँ पार्टीको महत्वपुर्ण जिम्मेवारीमा थिए ।
२०५७ मा पार्टी दोस्रो राष्ट्रिय सम्मेलन लगत्तै रुकुम जिल्ला पार्टी इन्चार्जमा नियुक्त भए, अथक । २०५९ मा विशेष क्षेत्रीय व्यूरो र रुकम इन्चार्जबाट भेरी-कर्णाली क्षेत्रीय व्यूरोमा सरुवा भएर गए । त्यहाँ हुम्ला, मुगु र जुम्ला, कालीकोट जिल्लाको इन्चार्ज भएर काम गरे । ‘एक वर्ष कर्णालीका गाउँबस्तीको संगठन र आन्दोलनको नेतृत्व गर्ने अवसर मिल्यो, कर्णाली बसाई शिक्षापरत उत्साहजनक रह्यो,’ उनी भन्छन् ।
उनी कर्णालीमा रहँदा बाँके-बर्दियाको इन्चार्जमा ज्ञामप्रसाद चालिसे ‘आयाम’ थिए । तत्कालिन सुरक्षाकर्मीको आक्रमणबाट चालिसे मारिए । बाँके र बर्दियामा पार्टीले ठुलै क्षति ब्यहोरेको अवस्थामा नयाँ जिम्मेवारीका साथ अथक यस क्षेत्रमा आइपुगे ।
उनी यहाँ आउँदासम्म आयाम सहित २३ जना प्रभावशाली नेताहरु (डिसिएम) मारिएका थिए । भुमिगत जीवन र नौलो परिवेशमा पनि अथकले बाँके र बर्दियामा आफुलाई स्थापित नै गराए । अथकले बाँके र बर्दियामा फरक शैलीबाट युद्ध र पार्टीका गतिविधी अगाडी बढाए ।
‘ज्ञाम आयाम संस्कृति भनेर संश्लेषण गरी व्यापक स्कुलिङ चलाइयो, त्यसबाट सबैमा बद्लाभाव र संकल्पका साथ व्यापक जनतालाई संगठित गर्ने दिशातिर प्रेरित र जिम्मेवार बनाइयो,’ उनले विगतलाई स्मरण गर्दै भने । २०६० मा अथक पार्टी केन्द्रिय समितिको सदस्यमा मनोनित भए । त्यसपछि उनले बाँके–बर्दिया विशेष जिल्ला र केही समय सुर्खेत जिल्ला समेतको नेतृत्व सम्हाल्न पुगे ।
‘संसदीय दलहरु, अधिकारकर्मी, कानून व्यवसायी, उद्योगी, बुद्धिजीवी, विकासकर्मी र मिडियासँगको सहकार्य र सहमतिको अभ्यासले जनयुद्ध र जनआन्दोलनलाई फ्यूजन गराएर केन्द्रीय नारालाई स्थानीय स्तरमा अभ्यास र संयुक्त मोर्चाको आधार तयार पार्दै बाँके–बर्दियामा एकातिर जनयुद्धका गतिविधि र अर्कातिर जनआन्दोलनको भावभूमी तयार पार्ने काम भयो,’ अथक भन्छन् ।
२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता पश्चात माओबादी शान्तिपुर्ण राजनीतिमा आयो । उनी २०६५ देखि २०६९ साउनसम्म पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीसँगै थारुवान राज्य समितिको सेक्रेटरी भए । २०६९ माघ २० देखी २५ गतेसम्म हेटौडामा सम्पन्न एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०७० सालको संविधासभाको निर्वाचनमा माओबादीका तर्फबाट बाँके, क्षेत्र नम्बर १ मा उम्मेदवार भएपनि पराजित भएका थिए । २०७१ मा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अथक पुनः पार्टी केन्द्रीय समितिमा निर्वाचित भए ।
२०७३ जेठमा पार्टी केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भएका अथक २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०७५ जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच पार्टी एकता पश्चात गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको उनी केन्द्रिय सदस्य भए ।
पार्टीका लागि धेरै योगदान गरेका अथक आफ्नै पार्टीभित्र भने अथक अवसरबाट बञ्चित हुदै आएका थिए । उनीभन्दा धेरै पछाडी राजनीतिमा आएका कयौं नेताले राजनीतिक फाइदा लिए । प्रतिनिधी सभाको सांसद बनेको चार वर्षपछि मात्र अथकले मन्त्री पदको जिम्मेवारी पाएका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा ‘अथक’ अहिले पनि युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् ।
सांसद र मन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले बाँकेको क्षेत्र नम्बर १ मा थुप्रै विकास निर्माणका काममा योगदान पुर्याएका छन् । ‘म सांसद र मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका जे कामहरु गरेको छु, त्यसलाई जनताले प्रत्यक्ष देख्नु भएकै छ, अझै धेरै कामहरु गर्नुपर्नेछ, तसर्थ यो निर्वाचनमा मलाई जनताले मुल्यांकन गरी राम्रो अंक दिएर पास गराउनु हुनेछ, भन्नेमा मलाई पूर्ण विश्वास छ,’ उनी भन्छन् ।
योे पनि पढ्नुस् :
पाँच वर्षमा अथकले यसरी पुरा गरे ‘सात संकल्प’
भिडियो हेर्नुस् :