नेपालगन्ज : आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख ५० हजार नगद पाउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरेको हो ।
म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले विभिन्न विधाको नगद पुरस्कार घोषणा गरे ।
शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ ।
त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।
आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार आयोजना हुँदैछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।