नेपालगन्ज : २०७० सालदेखी नेकपा एमालेले दुई पटक लगातार जित्दै आएको बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा यसपटक नेपाली काँग्रेस आफ्नो विरासत कायम गर्ने दाउमा छ । आफ्नो किल्लाका रुपमा परिचित यहाँ यसपटक भने एमालेलाई विरासत जोगाउन चुनौती भइरहेको छ ।
यसअघि दुई पटक काँग्रेसलाई हराउँदै चुनाव जितेकाले एमालेले ३ नम्बरलाई बाँकेको सबैभन्दा सुरक्षित क्षेत्रका रुपमा लिने गरेको थियो । तर, यसपटक काँग्रेससहित पाँच दलबीच चुनावी गठबन्धन हुनु, काँग्रेसले ‘हेवीवेट’ र आफ्नो पार्टीमाथी लागेका आरोपलाई चिर्न नसक्दा एमालेलाई विरासत जोगाउन चुनौती देखिएको छ ।
सत्तारुढ पाँच दलिय गठबन्धनले यहाँ ‘हेवीवेट’ उम्मेदवारका रुपमा नेपाली काँग्रेसका केन्द्रिय सह–महामन्त्री किशोरसिंह राठौंरलाई मैदानमा उतारेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलाई मैदानमा उतारेको छ ।
कांग्रेस सह–महामन्त्री राठौंरलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी)पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राष्ट्रिय जनमोर्चाको साथ रहेको छ । यस्तै एमालेका कक्षपतिलाई भने राप्रपाको मात्र समर्थन छ ।
दुबै गठबन्धनका उम्मेदवार आफ्ना प्रतिबद्धता र घोषणापत्र सहित जनतामाझ पुगिरहेका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन दुबै गठबन्धनका उम्मेदवारले कसरत गरिरहेका छन् । उक्त क्षेत्रमा २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णसिंह परियार निर्वाचित भएका थिए ।
यस्तै २०५१ मा राप्रपाका फत्तेसिंह थारु, २०५६ मा काँग्रेसका कैलाशनाथ गुप्ता (कशौधन), २०६४ मा माओवादी नेतृ पुर्णाकुमारी सुवेदी, २०७० सालमा नेकपा एमालेका दलबहादुर सुनार र २०७४ सालमा एमालेकै नन्दलाल रोकाय निर्वाचित भएका थिए ।
२०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट एमालेका उम्मेदवारसँग प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा पराजित भएका काँग्रेसका बादशा कुर्मी अहिले प्रदेश सभा-३ (२) मा उम्मेदवार बनेका छन् । एमालेबाट अलग भएर नेकपा (एकिकृत समाजवादी) पार्टीमा लागेका सुनारले यसपटक बाँके, प्रदेश सभा-३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
केही दिनअघि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका सुनार स्वतन्त्र चुनाव चिन्ह लिएर प्रचार गरिरहेका छन् । माओवादीको एउटा समुहले सुनारलाई अगाडी सारेको छ, भने अर्को समुहले माओवादी केन्द्रको चुनाव चिन्ह पाएका प्रदेश सभा ३(१) का उम्मेदवार ईन्द्रप्रसाद खरेल(आईपी)को प्रचार गरिरहेको छ ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि क्षेत्र नम्बर ३ बाट अरु ७ जना उम्मेदवार पनि मैदानमा छन् । यद्यपी, काँग्रेसका राठौर र एमालेका कक्षपतिबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीय स्तरमा विश्लेषण भइरहेको छ । अधिकांस उम्मेदवारले यसपटक पनि भुमिहिन, सुकुम्बासी समस्या, सिचाइँ, बाटो, पुल, तटबन्ध जस्ता विषयलाई उठान गरेका छन् । सबै उम्मेदवारले चुनावी प्रचार कार्यलाई तिब्रता दिइरहेका छन् ।
उक्त क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ तथा जानकी, खजुरा र बैजनाथ गाउँपालिका पर्छन् । नेपालगन्जको वडा नम्बर १६ र १७ तथा जानकीमा मधेसी र मुस्लिम समुदायको करिव ९० प्रतिशत बसोबास रहेको छ । खजुरा गाउँपालिकामा पहाडी समुदायको बढी बसोबास छ । यसैगरी बैजनाथ गाउँपालिकामा थारु र पहाडी समुदायको मिश्रित बसोबास रहेको बताइन्छ ।
यहाँ भुमिहिन, सुकुम्बासीका पनि मुद्दा छन् । हरेक निर्वाचनमा यस क्षेत्रका थारु, मधेसी, मुस्लिम समुदाय तथा भुमिहिन, सुकुम्बासीहरु निर्णायक मानिन्छन् । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षले प्राप्त गरेको मतका आधारमा यहाँ नेपाली काँग्रेस सबैभन्दा ठुलो दल रहेको देखिन्छ । उक्त निर्वाचनमा काँग्रेसले यस क्षेत्रमा २५ हजार ६ सय ८९ मत प्राप्त गरेको थियोे ।
यस्तै एमालेले २२ हजार १ सय ९९, माओवादी केन्द्रले १४ हजार ८ सय १८, राप्रपाले ४ हजार ६ सय ४१, जनता समाजवादी पार्टी (जसपा) ले ४ हजार १ सय ९९, नेकपा (एकिकृत समाजवादी) पार्टीले २ हजार ३ सय ४८, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले १ हजार ३७ र राष्ट्रिय जनमोर्चाले १९ मत ल्याएको देखिन्छ ।
पाँच दलिय गठबन्धनमा रहेका दलको मत संख्या ४३ हजार ९ सय ११ रहेको छ । यसैगरी एमाले र राप्रपाको कुल मत संख्या २६ हजार ८ सय ४० मत रहेको देखिन्छ । स्थानीय तह निर्वाचनमा प्राप्त मतको विश्लेषण गर्दा सत्तारुढ पाँच दलिय गठबन्धन १७ हजार ७१ मतको अन्तरले अगाडी रहेको देखिन्छ । स्थानीय तह निर्वाचनको प्राप्त मतलाई गठबन्धनले जोगायो भने मात्रै प्रतिनिधी सभा क्षेत्र नम्बर ३ का उम्मेदवार राठौंरले जित्ने निश्चित देखिन्छ ।