नेपालगन्ज : यही मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि सबै उम्मेदवारले आफ्नो प्रचार–प्रसार पुरा गरेका छन् । प्रचार सकिएपछि यतिबेला चुनावी जोडघटाउ सुरु हुन थालेको छ ।
पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला लड्दै आएको बाँके क्षेत्र नम्बर २ मा १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । यि मध्ये कस्ले बाजी मार्ला भनेर अनेक विश्लेषण भइरहेको छ ।
क्षेत्र नम्बर २ को निर्वाचन यसपटक निकै रोचक बनिरहेको छ । नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनले सुदीपनरसिंह राणालाई अगाडी सारेको छ । नेकपा एमाले र राप्रपा बीचको तालमेलबाट डा. धवलसम्शेर राणा मैदानमा छन् । जनता समाजवादी पार्टी (जसपा) भने एक्लै भिडेको छ । जसपाले पुर्वमन्त्री एवम् निर्वतमान सांसद मोहम्मद ईश्तियाक राईलाई पुनः उठाएको छ ।
२०७४ सालको निर्वाचनमा राईले आफ्नो पार्टीभन्दा बाहिरको धेरै मत पाएर चुनाव जितेका थिए । त्यतिबेला उनलाई लोकप्रिय मत प्राप्त भएको थियो । बजारमा भइरहेका अनेक चर्चाले यसपटक उनको लोकप्रियता भने ह्वात्तै घटेको देखिन्छ । दुई राणा बीचको कडा प्रतिस्पर्धामा उनी पनि पछाडी दौडिरहेका छन् ।
यसपटक आफ्नै भाई (काकाको छोरा) समशुल राई स्वतन्त्र उम्मेदवार बन्नु, पार्टीकै केन्द्रिय सदस्य बाबु खाँ पठान जसपा छाडेर जनमत पार्टीबाट चुनाव लड्नु, राईमाथी भ्रष्टाचारका गम्भिर आरोप लाग्नुले यसपटक परिणाम अनुकुल नदेखिएको स्थानीय बताउँछन् ।
एमाले र राप्रपाबीचको तालमेलबाट उम्मेदवार बनेका डा. राणामाथी पनि नेपालगन्जको मेयर हुँदा गरेका कतिपय बिवादास्पद कामले यसपटक उनको लोकप्रियता ह्वात्तै घटाएको छ । मेयर हुँदा उनको निर्देशनमा गाईलाई भिरबाट लडाएर मारेको, उपमहानगरपालिकामा रहँदा सुरु गरेका अधिकांस योजना तथा कार्यक्रम अलपत्र पारेको जस्ता गम्भिर आरोप उनीमाथी छ ।
पुर्वमन्त्री राईलाई क्षेत्र नम्बर २ का बासिन्दाले र डा. राणालाई नेपालगन्जबासीले एक पटक परिक्षण गरिसकेका छन् । एकथरीले नयाँ उम्मेदवार जिताउनुपर्ने अभियान नै चलाइरहेका बेला जसपाका राई र राप्रपाका डा. राणाको विकल्प यसक्षेत्रका बासिन्दाले खोज्दा त्यसको फाईदा सुदीपलाई मिल्न सक्ने एकथरीको अर्कोथरीको विश्लेषण छ ।
पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिपनरसिंह नेपालगन्जका पुराना नेता भएपनि नयाँ उम्मेदवार हुन्, उनलाई यसक्षेत्रका जनताले परिक्षण गर्न पाएका छैनन् । राई र डा. राणा दुबैलाई मतदाताले उपयुक्त उम्मेदवार नठानेमा सुदिपनरसिंहले बाजी मार्न सक्ने अचेल नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा चर्चा हुन थालेको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको मत संख्याले क्षेत्र नम्बर २ मा सबैभन्दा बलियो नेपाली काँग्रेस नै देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् ।
क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको थियो । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए ।
क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा अगाडी छ, भने दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ । तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा), त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ ।
मत संख्या अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ रहेको छ । यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ । नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।
सत्तारुढ गठबन्धन दल काँग्रेस, माओवादी र नेकपा (एकिकृत समाजवादी) को मात्रै मत जोड्ने हो भनेपनि २५ हजार ७ सय १७ हुन्छ । यस्तै एमाले र राप्रपाको मिलाएर २३ हजार ९ सय ७२ पुग्छ, भने जसपाको मात्रै १३ हजार ८ सय ९ मत रहेको छ । सत्तारुढ गठबन्धनभन्दा एमाले र राप्रपा १ हजार ७ सय ४५ मतले पछाडी रहेका छन् ।
यस्तै सत्तारुढ गठबन्धनभन्दा जसपा ११ हजार ९ सय ८ मतान्तरले पछाडी छ । स्थानीय तह निर्वाचनमा प्राप्त आफ्नो मतलाई काँग्रेससहित सत्ता गठबन्धनले जोगाउन सक्यो भने काँग्रेस नेता सुदीपनरसिंहले जित्ने सम्भावना देखिएको छ । यदी आफ्नो मत जोगाउन सकेनन् भने परिणाम फरक आउन सक्ने अनुमान गरिएको छ । सत्ता गठबन्धन मत जोगाउन सक्रिय भएको छ, भने राई र धवलले मत चोर्ने रणनीति बनाएका छन् ।