नेपालगन्ज : प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा सामाग्री बुझेर कर्मचारीहरु आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । जिल्लाका ३ वटा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले निर्वाचनका लागि सबै कर्मचारीहरु सामाग्री बुझेर आफ्नो क्षेत्रमा खटिसकेको बताइन् । उनले भनिन्, ‘निर्वाचनको तयारी अन्तिम अवस्थामा छ, सबै कर्मचारीहरु निर्वाचन सामाग्री लिएर आफ्नो क्षेत्रमा खटिसक्नु भएको छ ।’
उनका अनुसार बाँकेका ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ । सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र राखिएको प्रमुख पन्तले जानकारी दिइन् । क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ ।
उनका अनुसार नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पनि एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । पन्तले अगाडी भनिन्, ‘यसपटक आयोगको परिपत्र अनुसार कर्मचारी, थुनुवा, कैदी, बृद्धाश्रममा रहेका जेष्ठ नागरिक लगायतका लागि अस्थायी मतदान केन्द्रको ब्यवस्था गरिएको हो, यसअघि अस्थायी मतदान केन्द्र राख्ने ब्यवस्था थिएन ।’
निर्वाचनमा जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन् । यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिलाले मतदान गर्ने भएका छन् ।
बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन् । त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
उनका अनुसार बाँके प्रदेश सभा-१ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा-१ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन् । यस्तै प्रदेश सभा-२ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा-२ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन् । यसैगरी प्रदेश सभा-३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा-३ (२) मा ५१ हजार ७ सय २६ जना मतदाता छन् ।